बि.पी.का विचारदेखि कवितासम्म : स्याङ्जामा साहित्यिक उत्सव, स्रष्टाले जोड दिए अभिव्यक्ति स्वतन्त्रतामा

Breaking Nepal

pen
मिलन समीर
शुक्रबार ,साउन ८ , २०८३ २१:०४

स्याङ्जा / नेपाली लेखक सङ्घ स्याङ्जाले ४४औँ बि.पी. स्मृति दिवसको अवसरमा आयोजना गरेको ‘बि.पी. विचार गोष्ठी तथा काव्य उत्सव–२०८३’ सम्पन्न भएको छ ।

वालिङ बहुमुखी क्याम्पसको सभाकक्षमा आयोजित कार्यक्रममा बि.पी. कोइरालाको लोकतान्त्रिक विचार, अभिव्यक्ति स्वतन्त्रता, सिर्जनशीलता र समकालीन साहित्यबारे गहन विमर्श हुनुका साथै स्रष्टाहरूले आफ्ना सिर्जना प्रस्तुत गरेका छन् ।

नेपाली लेखक सङ्घ स्याङ्जाका अध्यक्ष पारिश्वर न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा.डा. कुसुमाकर न्यौपाने प्रमुख अतिथिका रूपमा सहभागी भए । प्रमुख वक्ता प्रा.डा. वासुदेव भण्डारीले बि.पी. कोइरालाको राजनीतिक दर्शन र साहित्यिक योगदानले नेपाली समाजलाई लोकतान्त्रिक चेतनासँगै वैचारिक ऊर्जा प्रदान गरेको उल्लेख गरे ।

कार्यक्रममा ध्रुवप्रसाद शर्मा पङ्गेनीले प्रस्तुत विषयमाथि टिप्पणी गर्दै साहित्यले समाजलाई सही दिशातर्फ डोर्‍याउने महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरे । नेपाली काङ्ग्रेस भीरकोटका सभापति यामप्रसाद अधिकारी (लक्ष्मण), वालिङ बहुमुखी क्याम्पसका निमित्त प्रमुख विष्णु सुवेदी गैह्रे, नेपाल शिक्षक सङ्घ स्याङ्जाका अध्यक्ष पशुपति पौडेल, नेपाली लेखक सङ्घ कास्कीका अध्यक्ष तथा गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ कमल पौडेल ‘अथक’ र नेपाली लेखक सङ्घका केन्द्रीय सचिव मिलन समीरले पनि बि.पी.का विचारको समसामयिक सान्दर्भिकतामाथि धारणा राखेका थिए ।

कार्यक्रमको दोस्रो चरणमा आयोजित ‘बि.पी. काव्य उत्सव–२०८३’ मा स्याङ्जाका स्थापित तथा युवा स्रष्टाहरूले कविता, गजल र अन्य साहित्यिक रचनावाचन गरेका थिए । ध्रुवप्रसाद शर्मा पङ्गेनी, कमला रेग्मी, विकास थापा मगर, बबिन पाठक, रमेश कुख्यात, स्मारिका अर्याल, गोविन्दशरण रेग्मी, मुनाल गोदार क्षेत्री, ढालबहादुर केसी, रेशमलाल डुम्रे, नारायण न्यौपाने ‘दर्शन’, लक्ष्मी रेग्मी खनाल, वसन्त खनाल, खगेन्द्रजङ्ग थापा, दिलीप तिवारी, लीलाप्रसाद रेग्मी, राजु गैह्रे, शम्भु अर्याल, राजेन्द्र श्रेष्ठ, विनुप्रसाद पराजुली, झवनाथ बस्याल, प्रेमप्रसाद सुवेदी, सीताराम अधिकारी, कमलप्रसाद बगाले, प्रकाश न्यौपाने ‘चौरासपति’, जि.बी. राना, ओम थापा, गुरुप्रसाद ढकाल, सरस्वती अर्याल काफ्ले, चण्डिकाप्रसाद भट्टराई, शान्ता थापा, यमप्रकाश खनाल, अनन्त अर्याल, लेखनाथ काफ्ले, मिलन समीर र पारिश्वर न्यौपानेलगायतका स्रष्टाले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा.डा. कुसुमाकर न्यौपानेलाई नेपाली लेखक सङ्घ स्याङ्जाले विशेष सम्मान गरेको थियो । प्रमुख वक्ता, टिप्पणीकर्ता तथा विशिष्ट अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।
नेपाली लेखक सङ्घ स्याङ्जाकी उपाध्यक्ष शान्ता थापाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रमको संयोजन सङ्घका निवर्तमान अध्यक्ष तथा केन्द्रीय सचिव मिलन समीरले गरेका थिए भने सञ्चालन सचिव गुरुप्रसाद ढकालले गरेका थिए ।

आयोजकका अनुसार बि.पी. स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमले साहित्य, लोकतान्त्रिक मूल्य र अभिव्यक्ति स्वतन्त्रताप्रति स्रष्टाहरूको प्रतिबद्धतालाई थप सशक्त बनाएको छ ।