खैरो हेरोइनसहित पक्राउ परेका व्यक्ति हत्या दोषी, प्रहरी कारबाहीमा दुई जना घाइते

Breaking Nepal

शुक्रबार ,साउन ८ , २०८३ १३:५८

काठमाडौं । सिरहाको लहानमा लागुऔषधसहित पक्राउ परेका ६ जनामध्ये एक जना व्यक्ति हत्या मुद्दामा दोषी ठहर भइसकेका व्यक्ति रहेको खुलेको छ। लागुऔषध नियन्त्रण ब्युरोका अनुसार सप्तरीका मो. नसिरमाथि हत्या मुद्दामा २५ वर्ष कैद सजायको फैसला भएको थियो।

बिहीबार लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले लहान नगरपालिका–३ हस्पिटल चोकबाट लागुऔषध कारोबारको आरोपमा ६ जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा भारतीय नागरिकसहित सप्तरीका विभिन्न स्थानका व्यक्तिहरू रहेका छन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतका २२ वर्षीय विद्यानन्द यादव, सप्तरीको रुपनी गाउँपालिका–१ का ४० वर्षीय मो. नसिर, बादेबरसाइन नगरपालिका–२ का २८ वर्षीय शम्भुप्रसाद यादव, डाक्नेश्वरी गाउँपालिका–२ का २८ वर्षीय मो. जमाहिर आलम, सोही ठाउँका ३२ वर्षीय मो. इमामुदिन र बादेबरसाइन नगरपालिका–२ का २४ वर्षीय वैधनाथप्रसाद यादव रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट २४३ ग्राम खैरो हेरोइन बरामद भएको जनाएको छ। पक्राउ गर्ने क्रममा प्रहरी टोलीमाथि प्रतिकार भएपछि सुरुमा पाँच राउन्ड हवाई फायर गरिएको र त्यसपछि नियन्त्रणका लागि गोली चलाइएको ब्युरोको भनाइ छ।

गोली लागेर मो. नसिरको बायाँ खुट्टा र भारतीय नागरिक विद्यानन्द यादवको दायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। उनीहरूको उपचारपछि थप अनुसन्धान अघि बढाइएको छ।

लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवासचन्द्र बोहोराका अनुसार मो. नसिर सप्तरीमा भएको एक व्यक्ति हत्या घटनामा दोषी ठहर भएका व्यक्ति हुन्। उनलाई अदालतले २५ वर्ष कैद सजाय सुनाएको थियो।

नसिर सुनसरीस्थित झुम्का कारागारमा कैद भुक्तान गरिरहेका बेला जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएको प्रहरीको दाबी छ। फरार भएपछि उनी पुनः आपराधिक गतिविधिमा संलग्न भएको र पछिल्लो समय लागुऔषध कारोबारमा जोडिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्युरोले जनाएको छ।

प्रहरीले पक्राउ परेका अन्य व्यक्तिको भूमिका, लागुऔषधको स्रोत र कारोबारको सञ्जालबारे अनुसन्धान भइरहेको जनाएको छ।