Breaking Nepal

काठमाडौं। नेपाल बाल संगठन (बाल मन्दिर)को सम्पत्ति दुरुपयोग र व्यवस्थापनमा अनियमितता भएको आरोपमा संगठनका आठ जना पूर्वपदाधिकारी तथा पदाधिकारीविरुद्ध ठगी कसुरमा मुद्दा दायर गरिएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो।
अभियोग दायर गरिएकामध्ये तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, तत्कालीन सचिव राजेन्द्रकुमार श्रेष्ठ, तत्कालीन सभापति ओमकृष्ण कर्माचार्य, पूर्वसभापति युरीकुमारी राई, पूर्वकोषाध्यक्ष दीपकदास श्रेष्ठ, पूर्वकोषाध्यक्ष प्रयागराज श्रेष्ठ, पूर्वसभापति भगवान शाक्य तथा तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार रहेका छन्।
सीआईबीका अनुसार प्रतिवादीमध्ये आशा श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ र ओमकृष्ण कर्माचार्य पक्राउ परिसकेका छन्। अन्य पाँच जनालाई फरार प्रतिवादी कायम गरी अदालतमा मुद्दा दर्ता गरिएको छ।
सीआईबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा उनीहरूमाथि ठगी कसुरमा अभियोजन गरिएको जानकारी दिए।
बाल मन्दिरको सम्पत्ति व्यवस्थापन तथा उपयोगमा भएको अनियमितताको छानबिन गर्न उच्च अदालतका पूर्वमुख्य न्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा गठन गरिएको आयोगले २०७७ सालमै सरकारलाई प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय मन्त्रिपरिषद्ले गत चैतमा गरेपछि सीआईबीले विस्तृत अनुसन्धान अघि बढाएको थियो।
सोही अनुसन्धानको निष्कर्षका आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा ठगी कसुरअन्तर्गत मुद्दा दायर गरेको हो। अब अदालतले अभियोगपत्र दर्तापछि प्रतिवादीहरूको बयान, थुनछेक र नियमित न्यायिक प्रक्रियालाई अघि बढाउनेछ।