सडक सुरक्षामा मेट्रो ट्राफिक एफएमको भूमिका प्रभावकारी : प्रहरी महानिरीक्षक कार्की

Breaking Nepal

शुक्रबार ,साउन ८ , २०८३ १३:३४

काठमाडौं। सडक दुर्घटना न्यूनीकरण, ट्राफिक सचेतना विस्तार र यातायात व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमले निर्वाह गर्दै आएको भूमिका प्रभावकारी रहेको प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बताएका छन्।

मेट्रो ट्राफिक एफएम ९५.५ को १४औँ वार्षिकोत्सवका अवसरमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै कार्कीले सडक सुरक्षा र नागरिक सचेतनाका क्षेत्रमा एफएमको योगदान महत्त्वपूर्ण रहेको बताए।

उनका अनुसार अपराध नियन्त्रण, सुरक्षा सूचना प्रवाह र ट्राफिकसम्बन्धी जानकारी नागरिकसम्म पुर्‍याउन सञ्चारमाध्यमको भूमिका बढ्दै गएको छ। उनले आगामी दिनमा एफएमले आफ्नो क्षमता विस्तार गर्दै सडक सुरक्षा र नागरिक केन्द्रित कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने बताए।

कार्कीले सडक सुरक्षा केवल प्रहरीको जिम्मेवारी नभई सरकार, नागरिक, सञ्चारमाध्यम र अन्य सरोकारवालाको साझा दायित्व भएको उल्लेख गरे।

कार्यक्रममा ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि प्रहरी, नागरिक र तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताइन्। उनले ट्राफिक एफएमले प्रहरी र नागरिकबीच सूचना आदानप्रदानको माध्यमका रूपमा काम गरिरहेको उल्लेख गरिन्।

वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठले शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रहरीलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउनुपर्नेमा जोड दिए।

त्यस्तै, कलाकार राजेश हमालले ट्राफिक व्यवस्थापन प्रहरीको मात्र जिम्मेवारी नभएको भन्दै सडक प्रयोग गर्ने प्रत्येक नागरिक जिम्मेवार हुनुपर्ने बताए।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले सडक पूर्वाधार सुधार र प्रविधिको प्रयोग बढाएर ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्ने सुझाव दिए।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले मेट्रो ट्राफिक एफएम चालक, यात्रु र ट्राफिक प्रहरीबीच सूचनाको महत्वपूर्ण माध्यम बनेको बताए।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले सडक दुर्घटना न्यूनीकरण र नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै एफएमले प्रत्येक ३०/३० मिनेटमा ट्राफिक अवस्था, मौसम तथा हवाई सेवासम्बन्धी ‘ट्राफिक अपडेट’ प्रसारण गर्दै आएको जानकारी दिए।

१४ वर्षको यात्रामा मेट्रो ट्राफिक एफएमले सडक प्रयोगकर्तालाई समयमै सूचना उपलब्ध गराउँदै सुरक्षित यातायात प्रणाली निर्माणमा सहयोग पुर्‍याउँदै आएको कार्यालयले जनाएको छ।