Breaking Nepal

काठमाडौं। गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो खिचाएको दृश्य सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको केही समयपछि बाब्लु गुप्ताले सार्वजनिक रूपमा आफ्नो गल्ती स्वीकार गरेका छन्।
सामाजिक सञ्जालमार्फत जारी गरेको सन्देशमा गुप्ताले बाल्यकालका खेल र पुराना सम्झनालाई समेट्ने उद्देश्यले तयार गरिएको भिडियोका क्रममा मोटरसाइकल प्रयोग गरिएको बताएका छन्। सो क्रममा आफूबाट ट्राफिक नियम विपरीत गतिविधि भएको महसुस गरेको उनको भनाइ छ।
‘मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउनु मेरो तर्फबाट भएको ट्राफिक नियम उल्लङ्घन हो भन्ने कुरा मैले महसुस गरेको छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
गुप्ताले उक्त घटनाप्रति आत्मालोचना गर्दै भविष्यमा यस्ता गतिविधि नदोहोर्याउने प्रतिबद्धता जनाएका छन्। सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिका रूपमा आगामी दिनमा अझ जिम्मेवार ढंगले प्रस्तुत हुने उल्लेख गर्दै उनले आफूबाट जानी वा नजानी भएको गल्तीका लागि क्षमायाचना गरेका छन्।
मोटरसाइकलमा उभिएर भिडियो बनाएको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा ट्राफिक सुरक्षासम्बन्धी नियमको पालनाबारे व्यापक टिप्पणी भएको थियो। त्यसपछि गुप्ताले आफ्नो धारणा सार्वजनिक गर्दै नियम उल्लङ्घन भएको स्वीकार गरेका हुन्।