Breaking Nepal

धरान । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले विकासलाई केवल सडक, विद्यालय र अस्पतालजस्ता भौतिक संरचनाको विस्तारका रूपमा बुझ्न नहुने बताएका छन्। उनले नागरिकको जीवनमा आउने सकारात्मक परिवर्तन, सेवा पहुँच र आर्थिक अवसरको विस्तार नै वास्तविक विकासको आधार भएको बताए।
धरानका धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकनपछि शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पौडेलले विकासको मूल्यांकन निर्माण भएका संरचनाको संख्या नभई त्यसबाट नागरिकले पाउने प्रतिफलका आधारमा गर्नुपर्ने धारणा राखे।
उनका अनुसार सडक निर्माण हुनु मात्र पर्याप्त हुँदैन। सडकले स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, नागरिकको आवतजावत सहज बनाउने र आर्थिक गतिविधि विस्तार गर्ने वातावरण सिर्जना गरेपछि मात्रै त्यसको वास्तविक उपयोगिता देखिन्छ।
त्यस्तै विद्यालय र अस्पताल निर्माणलाई पनि उनले सेवा गुणस्तरसँग जोड्नुपर्ने बताए। विद्यालय बने पनि विद्यार्थीले गुणस्तरीय शिक्षा नपाए वा अस्पताल बने पनि नागरिकले प्रभावकारी उपचार सेवा नपाए विकासको उद्देश्य पूरा नहुने उनको भनाइ थियो।
मन्त्री पौडेलले सरकारले भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीका क्षेत्रमा प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राखेको बताए। नागरिकको आवश्यकता र त्यसबाट प्राप्त हुने प्रतिफललाई केन्द्रमा राखेर विकास योजना अघि बढाउनुपर्ने उनले उल्लेख गरे।
धार्मिक तथा पर्यटकीय सम्पदाको संरक्षण, प्रवर्द्धन र व्यवस्थित पूर्वाधार निर्माणमार्फत पर्यटन क्षेत्र विस्तार गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री पौडेलले बताए। पर्यटन विकासलाई स्थानीय समुदायको आयआर्जन र रोजगारीसँग जोड्नुपर्ने उनको भनाइ थियो।
उनले संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य र समन्वयमार्फत धार्मिक तथा पर्यटकीय गन्तव्यको दीर्घकालीन विकास गर्नुपर्ने आवश्यकता औंल्याए।
अवलोकनका क्रममा मन्त्री पौडेलसँगै प्रतिनिधिसभा सदस्य सृजना श्रेष्ठ र सृष्टि भट्टराई सहभागी थिए। टोलीले शुक्रबार सुनसरीका रामधुनी मन्दिर र बराहक्षेत्र मन्दिरको अवलोकन गरेको थियो।
शनिबार टोलीले धरानका विष्णुपादुका मन्दिर, गोर्खा पार्क, बुढासुब्बा मन्दिर, विजयपुर दरबार क्षेत्र तथा नेपाल आदिवासी जनजाति बहुजातीय संग्रहालयको अवलोकन गरेको थियो। त्यसपछि टोलीले धरान–८ स्थित शनि मन्दिरको निरीक्षण गरी मोरङतर्फ प्रस्थान गरेको हो।