Breaking Nepal

विराटनगर / विद्यालयको वित्तीय व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यले प्याब्सन विराटनगरले आयोजना गरेको विद्यालय लेखा व्यवस्थापन प्रणालीसम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ। तालिममा विराटनगरका ३० सदस्य विद्यालयका लेखापाल सहभागी भएका थिए ।
तालिममा चार्टर्ड एकाउन्टेन्ट युवराज उप्रेतीले विद्यालयको लेखा प्रणाली, वित्तीय अनुशासन, अभिलेख व्यवस्थापन, वित्तीय प्रतिवेदन तयारी, करसम्बन्धी व्यवस्था तथा आधुनिक लेखा प्रणालीको प्रभावकारी प्रयोगबारे प्रशिक्षण दिएका थिए । प्रशिक्षणका क्रममा विद्यालयमा देखिने व्यावहारिक समस्या र तिनको समाधानका उपायसमेत प्रस्तुत गरिएको थियो ।
सहभागीहरूले तालिमले दैनिक कार्यसम्पादनलाई थप सहज, व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । उनीहरूले व्यवहारिक विषयवस्तुमा केन्द्रित प्रशिक्षणले लेखा व्यवस्थापनसम्बन्धी ज्ञान र दक्षता अभिवृद्धि भएको प्रतिक्रिया दिएका थिए ।
कार्यक्रममा बोल्दै प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले गुणस्तरीय शिक्षासँगै विद्यालयको आर्थिक सुशासन पनि समान रूपमा महत्वपूर्ण रहेको बताए । पारदर्शी र व्यवस्थित लेखा प्रणालीले विद्यालयप्रतिको विश्वास बढाउने उल्लेख गर्दै उनले दक्ष, प्रविधिमैत्री र जिम्मेवार लेखापाल विद्यालयको वित्तीय व्यवस्थापनको प्रमुख आधार भएको धारणा राखे ।
उनका अनुसार सदस्य विद्यालयको संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आगामी दिनमा पनि यस्ता व्यावसायिक तथा सीपमूलक कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
तालिममा प्याब्सन विराटनगरका उपाध्यक्ष तथा तालिम संयोजक अशोक लामा, सचिव चिरञ्जीवी तिम्सिना, कोषाध्यक्ष गोपाल रिजाल तथा सहकोषाध्यक्ष देवीलाल महतोको उपस्थिति रहेको थियो ।
कार्यक्रमको समापनमा आयोजकले प्रशिक्षक, सहभागी तथा सहयोगीप्रति धन्यवाद व्यक्त गर्दै विद्यालयको वित्तीय व्यवस्थापनलाई अझ प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउन यस्ता क्षमता विकासमूलक कार्यक्रमलाई निरन्तर सञ्चालन गरिने जनाएको छ ।