देवानगञ्ज हिंसापछि सरकारको अपिल : अफवाह नफैलाउन र संयम अपनाउन आग्रह

Breaking Nepal

मंगलबार ,साउन १२ , २०८३ २१:२४

काठमाडौं / सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको हिंसात्मक घटनापछि उत्पन्न अवस्थाप्रति नेपाल सरकारले गम्भीर चासो व्यक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले घटनाको निष्पक्ष छानबिन, पीडितलाई क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार तथा दोषीमाथि कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते नागरिक र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

सरकारले घटनामा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत गरिने जनाएको छ । साथै घटनाको सत्यतथ्य छानबिन गरी यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहित सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारीसहित गृह मन्त्रालयले छानबिन समिति गठन गरेर काम सुरु गरिसकेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने र घटनामा संलग्न दोषीमाथि कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट गरिएको छ ।

सरकारले कुनै पनि असन्तुष्टि, विवाद वा समस्याको समाधान हिंसा र मुठभेडबाट सम्भव नहुने उल्लेख गर्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ । धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी एकतालाई कमजोर बनाउने गतिविधिबाट टाढा रहन, उत्तेजना फैलाउने अभिव्यक्ति र भ्रामक सूचना प्रसारण नगर्न तथा यस्ता सूचनाको प्रभावमा नपर्न पनि सरकारको आग्रह छ ।

साथै मुलुकमा शान्ति, सुरक्षा, सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न राजनीतिक दल, नागरिक समाज, धार्मिक संघ–संस्था, सञ्चारमाध्यम र आम नागरिकले जिम्मेवार भूमिका निर्वाह गर्न सरकारको आह्वान रहेको विज्ञप्तिमा उल्लेख छ ।

Desktop Popup ImageMobile Popup Image×