Breaking Nepal

विराटनगर / विराटनगर–१० स्थित कान्तिपुर कलेजले शैक्षिक सत्र २०८२ का लागि कक्षा ११ मा भर्ना भएका ९०९ जना नयाँ विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रममार्फत औपचारिक रूपमा शैक्षिक यात्रामा स्वागत गरेको छ । कलेजले यस वर्ष विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट संकायमा उल्लेख्य संख्यामा विद्यार्थी आकर्षित गर्दै आफ्नो शैक्षिक विस्तारलाई थप मजबुत बनाएको जनाएको छ ।
विराटनगरमा आयोजित कार्यक्रममा कान्तिपुर फाउण्डेशनका अध्यक्ष खुसीराज श्रेष्ठले नयाँ विद्यार्थीलाई स्वागत गर्दै गुणस्तरीय शिक्षा, अनुशासन र प्रतिस्पर्धी क्षमताको विकासमार्फत भविष्य निर्माणमा केन्द्रित हुन आग्रह गरे ।
कलेजका अनुसार यस वर्ष विज्ञान संकायमा ३२६, व्यवस्थापनमा ४२४ तथा होटल म्यानेजमेन्टमा १५९ जना विद्यार्थी भर्ना भएका छन् । कलेजले बढ्दो विद्यार्थी आकर्षणलाई आफ्नो शैक्षिक गुणस्तर र उपलब्धिको परिणामका रूपमा लिएको छ ।
कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४.० जीपीए प्राप्त गरी कान्तिपुर माध्यमिक विद्यालय रोजेका विद्यार्थी आमोद काफ्लेलाई विशेष सम्मान प्रदान गरिएको थियो । यस्तै, कलेजको प्रवेश परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विज्ञान संकायतर्फका ऐश्वर्य कुशवाहा, अजयकुमार यादव, श्रीयम श्रेष्ठ, सूर्यनारायण यादवसहित १९ जना तथा व्यवस्थापन संकायतर्फका सुन्दरकुमार मण्डल, निकिता कुमारी साहलगायतका विद्यार्थीलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड, कोशी प्रदेशका प्रमुख प्रकाश खरेलले गुणस्तरीय शिक्षाको क्षेत्रमा कान्तिपुरले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै शैक्षिक सफलता केवल उच्च जीपीएमा सीमित नहुने बताए । उनले विद्यार्थीलाई ज्ञानसँगै नैतिकता, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्व विकास गर्न सुझाव दिए ।
‘शिक्षाको गुणस्तर केवल जीपीए ४ ल्याएर मात्र मापन हुँदैन,’ उनले भने, ‘विद्यार्थी बहुआयामिक क्षेत्रमा सक्षम, सिर्जनशील र नैतिकवान् बन्न सक्नु नै वास्तविक सफलता हो ।’
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा डा. जनक अधिकारी तथा अतिथिका रूपमा हिमालय बराल, प्रदीपकुमार दास, दीपेन्द्रकुमार साह लगायत शिक्षक–शिक्षिकाको उपस्थिति रहेको थियो ।
कलेजका प्रिन्सिपल भुवन नेपालले कान्तिपुर कलेजले केवल उत्कृष्ट नतिजामात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखेको बताए । उनका अनुसार कलेजका २० भन्दा बढी पूर्वविद्यार्थी चिकित्सक बनिसकेका छन् भने धेरै विद्यार्थी निजामती सेवाको उच्च पदसम्म पुग्न सफल भएका छन् ।
‘हामी विद्यार्थीलाई परीक्षा केन्द्रित शिक्षाभन्दा पनि जीवन र करिअर केन्द्रित शिक्षामा जोड दिन्छौँ,’ उनले भने, ‘विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्नु अहिलेको आवश्यकता हो ।’
प्रिन्सिपल नेपालका अनुसार कलेजले गत वर्ष २१ लाख रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरेको थियो भने चालु शैक्षिक सत्रमा ५१ लाख रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराउने लक्ष्य लिएको छ । अतिरिक्त क्रियाकलाप, नेतृत्व विकास, खेलकुद तथा व्यक्तित्व निर्माणका कार्यक्रमहरूमा समेत कलेज अग्रणी रहेको उनले बताए ।
अभिमुखीकरण कार्यक्रममा विद्यार्थीलाई कलेजको शैक्षिक प्रणाली, अनुशासन, नीति–नियम तथा विभिन्न अवसरबारे जानकारी गराइएको थियो। औपचारिक सत्रपछि गीत, संगीत तथा नृत्य प्रस्तुतीमार्फत विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्दै कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएका थिए ।
कलेजले नयाँ शैक्षिक सत्रसँगै गुणस्तरीय शिक्षा, प्रतिस्पर्धी क्षमता र नेतृत्व विकासलाई केन्द्रमा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।