उत्कृष्ट विद्यार्थीलाई सम्मान : सुशिक्षा निकुञ्ज र अम्बे मुरारी सेवाबाट २१ विद्यार्थी पुरस्कृत

Breaking Nepal

शुक्रबार ,जेष्ठ २२ , २०८३ १८:११

विराटनगर / शैक्षिक उपलब्धिलाई प्रोत्साहन गर्ने उद्देश्यसहित श्री सुशिक्षा निकुञ्ज आधारभूत विद्यालय र अम्बे–मुरारी सेवा केन्द्रले विराटनगर महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने परम्परालाई यस वर्ष पनि निरन्तरता दिएका छन् ।

केन्द्र स्थापनाकालदेखि नै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको मनोबल उच्च बनाउने लक्ष्यसहित प्रत्येक वर्ष कक्षा १ देखि १० सम्म प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई सम्मान गर्दै आएको केन्द्रले यस वर्ष सुशिक्षा निकुञ्ज आधारभूत विद्यालयका २१ जना विद्यार्थीलाई मेडल र क्याल्कुलेटर प्रदान गरी पुरस्कृत गरेको हो ।

आयोजित कार्यक्रममा विराटनगर महानगरपालिका–८ का वडा अध्यक्ष राम पोखरेल, केन्द्रकी अध्यक्ष भारती पोखरेल, संस्थाका पदाधिकारी तथा विद्यालय परिवारले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए ।

यसैगरी, ज्वाला शोभा पोखरेल अक्षयकोषमार्फत विद्यालयका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । अक्षयकोषका संरक्षक प्रमिला पोखरेलले प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः १ हजार ७ सय र ५ सयका दरले छात्रवृत्ति वितरण गरिन् ।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष पोखरेलले यस्ता सम्मान तथा प्रोत्साहनमूलक कार्यक्रमले विद्यार्थीमा अध्ययनप्रतिको रुचि र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे । उनले शिक्षा क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न आफू सदैव प्रतिबद्ध रहने बताए ।

सन्तोष भगतको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय समुदायका प्रतिनिधिको उल्लेख्य उपस्थिति रहेको थियो । आयोजक संस्थाले आगामी वर्षहरूमा पनि शैक्षिक उत्कृष्टतालाई सम्मान गर्ने अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाउने जनाएको छ ।