Breaking Nepal

काठमाडौं / स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले खाद्यजन्य रोगलाई प्रमुख जनस्वास्थ्य चुनौतीका रूपमा उल्लेख गर्दै सुरक्षित र स्वच्छ खानपान सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्।
विश्व खाद्य स्वच्छता दिवसका अवसरमा जारी शुभकामना सन्देशमा मन्त्री मेहताले जनस्वास्थ्य सुधारका लागि खाद्य स्वच्छता र गुणस्तरलाई प्राथमिकतामा राखिएको उल्लेख गरेकी छन्। उनले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यान्वयनमार्फत खाद्य सुरक्षालाई थप सुदृढ बनाइने बताइन्।
मन्त्री मेहताका अनुसार खाद्य परीक्षण प्रयोगशालाको क्षमता अभिवृद्धि, जोखिममा आधारित बजार अनुगमन तथा आवश्यक नीतिगत सुधारका कार्यक्रमलाई सरकारले तीव्रता दिनेछ। उत्पादनदेखि उपभोगसम्म खाद्य शृङ्खलाका प्रत्येक चरणमा स्वच्छता कायम राख्न सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको उनको भनाइ छ।
उनले असल कृषि अभ्यास, असल उत्पादन प्रणाली र उचित भण्डारण प्रक्रियाको अवलम्बनले गुणस्तरीय खाद्य सामग्रीको उपलब्धता बढाउनुका साथै अस्वस्थकर खानपानका कारण हुने स्वास्थ्य तथा आर्थिक क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने बताइन्।
मन्त्री मेहताले खाद्य उत्पादन, वितरण र उपभोगसँग सम्बन्धित सबै सरोकारवालालाई खाद्य स्वच्छताको महत्त्व बुझ्दै आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आग्रह गरेकी छन्।
यस वर्ष विश्व खाद्य स्वच्छता दिवस ‘सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको पहिचान’ भन्ने नाराका साथ मनाइँदै छ। विश्व स्वास्थ्य संगठनका अनुसार दूषित खाद्य पदार्थका कारण हरेक वर्ष विश्वभर करिब ६० करोड मानिस बिरामी पर्ने र चार लाख २० हजारभन्दा बढीले ज्यान गुमाउने गरेका छन्।