Breaking Nepal

विराटनगर / सामाजिक सञ्जालमार्फत अपरिचित व्यक्तिसँग सम्बन्ध गाँस्ने प्रवृत्ति बढ्दै जाँदा नेपाली चेली मानव बेचबिखन तथा शोषणको उच्च जोखिममा पर्ने क्रम चिन्ताजनक रूपमा देखिन थालेको छ। भारतसँग जोडिएको विराटनगरको रानी सीमा नाकाबाट मात्रै दैनिक २ देखि ५ जनासम्म बालिका, युवती तथा महिलालाई भारत प्रवेश गर्नुअघि रोक्दै परिवारको जिम्मा लगाउने गरिएको छ।
मानव बेचबिखनविरुद्ध काम गर्दै आएको माइती नेपालको तथ्यांक र अनुभवले सामाजिक सञ्जाल अहिले मानव बेचबिखनका गिरोहका लागि प्रभावकारी माध्यम बन्दै गएको संकेत गरेको छ। भारतीय नागरिकले सामाजिक सञ्जालमार्फत नेपाली चेलीसँग सम्पर्क बढाउने, विश्वास जित्ने र आकर्षक रोजगारी वा प्रेम सम्बन्धको प्रलोभन देखाएर भारत बोलाउने प्रवृत्ति बढेको पाइएको छ।
माइती नेपाल विराटनगरका प्रतिनिधि विनोद पोखरेलका अनुसार पछिल्ला वर्षहरूमा परिवारलाई जानकारी नदिई भारत जान खोज्ने युवतीको संख्या उल्लेख्य रूपमा बढेको छ। “सामाजिक सञ्जालमा चिनजान भएका व्यक्तिको कुरामा विश्वास गरेर घरबाटै भाग्ने प्रवृत्ति बढ्दो छ। अधिकांश घटनामा उनीहरू भारतमै भेट्न बोलाइएका हुन्छन्,” उनले बताए।
उनका अनुसार सीमा नाकामा शंका लागेका यात्रुसँग सोधपुछ गर्दा धेरैजसोले सामाजिक सञ्जालमा चिनजान भएका भारतीय युवकलाई भेट्न जान लागेको स्वीकार गर्ने गरेका छन्। कतिपय घटनामा नजिकका आफन्तकै संलग्नतामा भारत लैजाने प्रयाससमेत भेटिएको छ।
रानी नाकाबाट फर्काइनेहरूमा किशोरीदेखि विवाहित महिलासम्म रहने गरेका छन्। सुनवर्षी, धनपालथान, ग्रामथान, रंगेली, विराटनगरलगायत मोरङका विभिन्न स्थानीय तह तथा पूर्वी पहाडी जिल्लाबाट आएका युवतीहरू समेत यस्तो जोखिममा पर्ने गरेको माइती नेपालको भनाइ छ।
पोखरेलका अनुसार सामाजिक सञ्जालमा भएको सामान्य चिनजानलाई विश्वास गरेर भारत पुगेपछि सुरक्षित रोजगारी वा राम्रो अवसर प्राप्त हुने कुनै सुनिश्चितता हुँदैन। बरु कतिपयलाई वेश्यावृत्ति, डान्स बार, डिस्को तथा अन्य शोषणमूलक गतिविधिमा जबर्जस्ती संलग्न गराइएको उदाहरण भेटिएका छन्।
सीमामा रोकिएका अधिकांश युवतीले परिवारलाई आफू भारत जान लागेको जानकारी नदिन आग्रह गर्ने गरेको उनले बताए। जोखिमको अवस्था मूल्यांकनपछि उनीहरूलाई परामर्श दिई आफन्तको जिम्मा लगाउने गरिएको छ।
केही समयअघि मोरङको कर्सिया क्षेत्रबाट सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएका भारतीय व्यक्तिलाई भेट्न भन्दै आधा दर्जन नाबालक घर छाडेर हिँडेका थिए। प्रहरीको सक्रियतामा उनीहरूको उद्धार गरिएको थियो। अनुसन्धानका क्रममा उनीहरूले भेट्न खोजेका व्यक्तिलाई प्रत्यक्ष रूपमा नचिनेको खुलेको थियो।
यता, मोरङमा महिला तथा बालबालिका हराएको भन्दै दर्ता हुने उजुरीको संख्या पनि बढ्दो क्रममा छ। पछिल्लो एक वर्षमा करिब एक हजार हाराहारी नेपाली चेली हराएको तथ्यांकले सामाजिक सञ्जालको दुरुपयोग, मानव बेचबिखनको जोखिम र अभिभावकीय निगरानीको चुनौतीलाई थप गम्भीर बनाएको सरोकारवालाको भनाइ छ।
मानव बेचबिखन नियन्त्रणका क्षेत्रमा काम गर्ने संस्थाहरूले सामाजिक सञ्जालको सुरक्षित प्रयोग, डिजिटल सचेतना र परिवार–समुदाय स्तरको निगरानीलाई अब प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनीहरूका अनुसार चेतना अभिवृद्धि र समयमै हस्तक्षेप गर्न सकिए मात्रै जोखिममा परिरहेका किशोरी तथा युवतीलाई जोगाउन सकिनेछ।