Breaking Nepal

झापा / नेपाल–भारत सीमासम्बन्धी विषयहरू चर्चामा रहेका बेला दुवै देशका सम्बन्धित निकायले सीमा स्तम्भ (पिल्लर)को संरक्षण, मर्मत तथा पुनःनिर्माण कार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नापी विभागको सीमा शाखाले झापाको बिर्तामोडमा आयोजना गरेको नेपाल–भारत सीमासम्बन्धी द्विपक्षीय फिल्ड सर्वे बैठकमा सहभागी नेपाली तथा भारतीय अधिकारीहरूले सीमा स्तम्भको नियमित मर्मत–सम्भार र अनुगमनलाई निरन्तरता दिने सहमति जनाएका हुन्।
बैठकमा पूर्वी नेपालको झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लासँग जोडिएको भारत सीमाक्षेत्रमा रहेका सीमा स्तम्भहरूको अवस्था, पछिल्लो तीन महिनामा सम्पन्न मर्मत तथा पुनःनिर्माण कार्य र आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा गरिएको थियो।
नापी विभागका प्रमुख नापी अधिकृत हरेराम यादवका अनुसार सीमाक्षेत्रमा खटिएका संयुक्त प्राविधिक टोलीहरूले तीन महिनाको अवधिमा सम्पन्न गरेका निर्माण तथा मर्मत कार्यको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले सीमा स्तम्भको संरक्षण र व्यवस्थापनलाई प्रभावकारी बनाउन नेपाल र भारतबीच यस्ता संयुक्त बैठक नियमित रूपमा हुँदै आएको जानकारी दिए।
बैठकमा सीमा स्तम्भहरूको भौतिक अवस्था, क्षति भएका संरचनाको पुनःनिर्माण, मर्मत आवश्यक रहेका स्थानहरूको पहिचान तथा सीमाक्षेत्र व्यवस्थापनसम्बन्धी विषयमा छलफल भएको थियो। सहभागीहरूले सीमा व्यवस्थापनलाई थप व्यवस्थित, सुरक्षित र तथ्यमा आधारित बनाउन दुवै देशका प्राविधिक तथा प्रशासनिक निकायबीचको समन्वयलाई सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रममा नेपालतर्फका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, नापी कार्यालयका अधिकारी तथा वन र अनुसन्धान निकायका प्रतिनिधिहरू सहभागी थिए। भारततर्फबाट बिहार राज्यको किशनगञ्ज जिल्लाका प्रशासनिक अधिकारी, सशस्त्र सीमा बल (एसएसबी)का वरिष्ठ अधिकारी तथा सर्वेक्षणसम्बन्धी प्राविधिक प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
सीमा स्तम्भहरूको संरक्षण र नियमित मर्मतले सीमा व्यवस्थापनलाई व्यवस्थित बनाउनुका साथै दुई देशबीचको आपसी विश्वास र सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।