Breaking Nepal

विराटनगर / नेपाली कांग्रेसभित्र लामो समयदेखि फरक धारमा सक्रिय रहेका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला निकट समूहबीच सहकार्यको संकेत देखिएको छ । यही सन्देश दिन कोशी प्रदेशको विराटनगरमा शनिबार दुवै पक्षको संयुक्त प्रदेशस्तरीय भेला आयोजना गरिएको छ ।
विराटनगरस्थित मनास्लु होटलमा हुने भेलामा १४औं महाधिवेशनमा देउवाका प्रतिस्पर्धी रहेका डा. शेखर कोइरालालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको छ । कांग्रेसभित्रका दुई प्रभावशाली धाराबीचको यो साझा उपस्थितिलाई आगामी राजनीतिक समीकरण र संगठनात्मक सहकार्यको प्रारम्भिक अभ्यासका रूपमा हेरिएको छ ।
कांग्रेस कोशी प्रदेश कार्यसमितिका महामन्त्री भुपेन्द्र राईका अनुसार कार्यक्रम देउवा र कोइराला पक्षको संयुक्त आयोजनामा हुन लागेको हो। उनका अनुसार प्रदेश तहबाटै दुवै समूहबीच सहकार्यको वातावरण निर्माण गर्ने उद्देश्यसहित भेला आयोजना गरिएको हो ।
यसअघि देउवा समूहले विभिन्न प्रदेशमा आयोजना गरेका भेलाहरूमा कोइराला पक्षका नेताहरूको उल्लेखनीय सहभागिता देखिएको थिएन । त्यसैले विराटनगरको यो कार्यक्रमलाई कांग्रेसभित्रको आन्तरिक एकता र शक्ति सन्तुलनको दृष्टिले अर्थपूर्ण मानिएको छ ।
भेलामा नेता कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, डा. मिनेन्द्र रिजाल, बलबहादुर केसी र एनपी साउद प्रमुख वक्ताका रूपमा सहभागी हुने कार्यक्रम छ ।