Breaking Nepal

विराटनगर / झापाको मेचीनगरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । वन क्षेत्र नजिकका बस्तीमा बढ्दो मानव–हात्ती द्वन्द्वका बीच आइतबार बिहान भएको घटनाले स्थानीयवासी थप त्रसित बनेका छन् ।
प्रहरीका अनुसार मेचीनगर नगरपालिका–४ स्थित वडा कार्यालय अगाडिको क्षेत्रमा जंगली हात्तीको आक्रमणमा परी स्थानीय ६२ वर्षीया पद्मा पौडेलको मृत्यु भएको हो । बिहान घरबाट बाहिर निस्किने क्रममा जङ्गलबाट बस्तीमा पसेको हात्तीले अचानक आक्रमण गर्दा उनी गम्भीर घाइते भएकी थिइन् ।
हात्तीले कुल्चिएपछि पौडेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ भने सुरक्षाकर्मी र सम्बन्धित निकायले घटनाबारे थप अनुसन्धान गरिरहेका छन् ।
पछिल्ला वर्षहरूमा झापासहित पूर्वी तराईका वन क्षेत्र आसपासका बस्तीमा जंगली हात्तीको प्रवेश बढ्दै गएको छ । खाद्यान्न खोज्दै बस्तीमा पस्ने हात्तीका कारण मानवीय क्षतिसँगै घर, बालीनाली र सम्पत्तिमा समेत नोक्सानी पुग्ने गरेको स्थानीयको गुनासो छ ।
वन क्षेत्र र बस्तीबीचको बढ्दो द्वन्द्व न्यूनीकरणका लागि प्रभावकारी व्यवस्थापन, निगरानी तथा स्थानीय सुरक्षाका उपाय सुदृढ गर्नुपर्ने आवश्यकता पुनः उजागर भएको छ । यस घटनाले मानव–वन्यजन्तु सहअस्तित्वको चुनौतीलाई फेरि एकपटक सतहमा ल्याएको छ ।