विराटनगरको ऐतिहासिक आदर्श माविको व्यवस्थापन नेतृत्वमा कल्याण लामिछाने

Breaking Nepal

आइतबार ,जेष्ठ ३१ , २०८३ ०८:२१

विराटनगर / विराटनगरको शैक्षिक इतिहाससँग जोडिएको आदर्श माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कल्याण लामिछाने चयन भएका छन् ।

विद्यालयको व्यवस्थापन तथा शैक्षिक गुणस्तर अभिवृद्धिलाई थप प्रभावकारी बनाउने अपेक्षासहित लामिछानेलाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो । उनको चयनसँगै विद्यालयको समग्र विकास, भौतिक पूर्वाधार विस्तार तथा गुणस्तरीय शिक्षामा नयाँ ऊर्जा थपिने विश्वास व्यक्त गरिएको छ ।

अध्यक्षमा चयन भएपछि विद्यालय परिवारले लामिछानेलाई सम्मान तथा बधाई ज्ञापन गरेको थियो । सो अवसरमा विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेल लगायतले खादा ओढाएर सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।

लामिछानेले विद्यालयको गौरवशाली इतिहास, शैक्षिक प्रतिष्ठा र समुदायको अपेक्षालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले विद्यालयलाई आधुनिक, प्रतिस्पर्धी र विद्यार्थीमैत्री शैक्षिक केन्द्रका रूपमा थप स्थापित गर्न सरोकारवाला सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।

विराटनगरकै पुराना तथा प्रतिष्ठित शैक्षिक संस्था आदर्श माध्यमिक विद्यालयले लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । नयाँ नेतृत्व चयनसँगै विद्यालयको संस्थागत सुदृढीकरण, शैक्षिक सुधार र दीर्घकालीन विकास योजनाले थप गति लिने अपेक्षा गरिएको छ ।