Breaking Nepal

काठमाडौं / ब्राजिलको रियो दि जेनेरियोमा दुई हेलिकोप्टर आकाशमै एक–आपसमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनापछि लागेको भीषण आगलागीमा पार्किङमा रहेका करिब २० वटा विद्युतीय गाडीसमेत जलेर नष्ट भएका छन् ।
आइतबार बिहान भएको उक्त दुर्घटनामा दुवै हेलिकोप्टर सहरको पश्चिमी क्षेत्रमा रहेको एक विद्युतीय सवारीसाधन डिलरसिपको पार्किङ क्षेत्रमा खसेका थिए । ठक्करलगत्तै हेलिकोप्टरमा आगो लागेको र त्यसको प्रभाव पार्किङमा राखिएका गाडीहरूमा फैलिएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।
ब्राजिलको दमकल विभागका अनुसार दुर्घटनापछि ठूलो विस्फोट भएको थियो, जसका कारण आगो तीव्र रूपमा फैलिएको थियो । दमकल तथा उद्धार टोलीले करिब एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार नागरिक उड्डयन प्राधिकरणलाई बुझाइएको यात्रु सूचीमा अमेरिकी गायक तथा कमेडियन (ओलिभर ट्रि) को नामसमेत समावेश रहेको बताइएको छ । यद्यपि दुर्घटनामा मृत्यु हुने व्यक्तिहरूको औपचारिक पहिचान अझै सार्वजनिक गरिएको छैन ।
ओलिभर ट्रिले यही महिनाको सुरुआतमा अर्जेन्टिनामा सांगीतिक प्रस्तुति दिएका थिए । शनिबार मात्र उनले सामाजिक सञ्जालमा ब्राजिलको एक बस्तीमा फुटबल खेलिरहेको भिडियो सार्वजनिक गरेका थिए ।
स्थानीय सञ्चारमाध्यमका अनुसार हेलिकोप्टरमध्ये एउटा जमिनमा खस्नेबित्तिकै विस्फोट भएको थियो । त्यसपछि पार्किङ क्षेत्रमा रहेका विद्युतीय गाडीहरूमा आगो सल्किँदा ठूलो क्षति भएको हो ।
अधिकारीहरूका अनुसार मृत्यु हुने सबै व्यक्ति दुवै हेलिकोप्टरका चालक दलका सदस्य हुन् । यद्यपि दुर्घटनाको वास्तविक कारण अझै खुल्न सकेको छैन । दुई हेलिकोप्टर आकाशमै कसरी ठोक्किए भन्ने विषयमा सम्बन्धित निकायले विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ ।