Breaking Nepal

सिरहा / किसानका लागि सरकारी अनुदानमा उपलब्ध गराइएको युरिया मल सिरहामा अनधिकृत रूपमा बिक्री भइरहेको भेटिएपछि संयुक्त अनुगमन टोलीले १३ बोरा मल नियन्त्रणमा लिएको छ।
जिल्ला प्रशासन कार्यालय सिरहाको नेतृत्वमा गरिएको अनुगमनका क्रममा धनगढीमाई नगरपालिका–१० स्थित भरत प्रधान सञ्चालित प्रधान किराना पसल बाट ३३ किलोग्राम दरका १३ बोरा युरिया मल बरामद गरिएको हो।
विशेष सूचनाका आधारमा गरिएको अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बराल, राष्ट्रिय अनुसन्धान विभागका डीएसपी रिजन यादव तथा कृषि सामग्री कार्यालय लहानका प्रतिनिधि सहभागी थिए। टोलीले बरामद गरिएको मल नियन्त्रणमा लिएर यसको आपूर्ति स्रोत, वितरण प्रक्रिया तथा सम्भावित कालोबजारी सम्बन्धी अनुसन्धान सुरु गरेको जनाएको छ।
अनुगमनपछि डीएसपी यादवले किसानका लागि छुट्याइएको अनुदानको मल अनधिकृत रूपमा बिक्री गर्ने वा कालोबजारीमा संलग्न जोसुकैलाई कानुनअनुसार कारबाही गरिने चेतावनी दिए। उनले कृषि क्षेत्रमा लक्षित सरकारी सहुलियतको दुरुपयोग हुन नदिन निगरानी थप कडा बनाइने बताए।
धान रोपाइँको मुख्य सिजनमै मल अभावको समस्या झेलिरहेका किसानका लागि लक्षित अनुदानको मल बजारमा अवैध रूपमा कारोबार भएको तथ्य बाहिरिएपछि स्थानीय कृषकले चिन्ता व्यक्त गरेका छन्। कृषकहरूले वास्तविक लाभग्राहीसम्म मलको पहुँच सुनिश्चित गर्न सम्बन्धित निकायलाई प्रभावकारी अनुगमन र कडाभन्दा कडा कारबाही गर्न आग्रह गरेका छन्।
प्रशासनले बरामद मलको वास्तविक स्रोत पहिचान गरी संलग्न व्यक्ति तथा संस्थामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ। कृषि उत्पादनको महत्वपूर्ण समयमा अनुदानको मल कालोबजारीमा गएको घटनाले वितरण प्रणालीको प्रभावकारितामाथि समेत प्रश्न उठाएको छ।