Breaking Nepal

काठमाडौं / नेपाली बजारमा सुनको मूल्यमा सोमबार एकैदिन उल्लेखनीय वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धिको प्रभावसँगै स्थानीय बजारमा पनि सुनको भाउ तोलामै ५ हजार रुपैयाँले उकालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य सोमबार प्रतितोला २ लाख ९८ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन आइतबार उक्त सुन प्रतितोला २ लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्य निरन्तर उकालो लाग्दै गर्दा बजारमा नयाँ कीर्तिमान नजिक पुगेको व्यवसायीहरू बताउँछन्। अन्तर्राष्ट्रिय बजारमा सुनप्रति लगानीकर्ताको आकर्षण बढ्नु र भू–राजनीतिक तथा आर्थिक अनिश्चितताका कारण मूल्यमा दबाब परेको विश्लेषण गरिएको छ।
यता, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार सोमबार चाँदी प्रतितोला १२० रुपैयाँले वृद्धि भई ५ हजार १५ रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो।
बहुमूल्य धातुको मूल्यमा आएको पछिल्लो वृद्धिले आभूषण व्यवसायसँगै उपभोक्तालाई समेत प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ।