ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिपछि भाौतिक पूर्वाधारमन्त्री लम्साल विवादित

Breaking Nepal

सोमबार ,असार १ , २०८३ १४:५५

काठमाडौं / नागढुंगा–मुग्लिन सडक विस्तार आयोजनाअन्तर्गत नौबिसे–मलेखु सडकखण्डमा विद्युत् पोल स्थानान्तरण कार्यमा भइरहेको ढिलाइप्रति पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सार्वजनिक रूपमा कडा असन्तुष्टि जनाएका छन्। अनुगमनका क्रममा उनले ठेकेदारलाई लक्षित गर्दै दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा आएको छ।

आइतबार धादिङस्थित पृथ्वी राजमार्गको नौबिसे–मलेखु खण्डको स्थलगत निरीक्षणका क्रममा मन्त्री लम्सालले विद्युत् पोल हटाउने जिम्मा लिएको ठेकेदार कम्पनीप्रति आक्रोश व्यक्त गरेका हुन्। सार्वजनिक भएको भिडियोमा उनले काममा ढिलासुस्ती गर्ने ठेकेदारविरुद्ध कठोर टिप्पणी गरेको सुनिन्छ।

स्थानीय आयोजना अधिकारी तथा निर्माण कम्पनीका प्रतिनिधिहरूले विद्युत् पोल स्थानान्तरणमा भएको ढिलाइका कारण सडक निर्माण कार्य प्रभावित भएको जानकारी गराएपछि मन्त्री लम्सालले असन्तुष्टि व्यक्त गरेको बताइएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार आयोजनाको प्रगतिमा देखिएको अवरोधबारे जानकारी पाएपछि मन्त्री भावुक बनेका थिए।

नौबिसे–मलेखु सडकखण्डको पूर्वी भागमा रहेका विद्युत् पोल स्थानान्तरणको जिम्मा नेपाल विद्युत् प्राधिकरणमार्फत सोहन कन्स्ट्रक्सनलाई दिइएको छ। आयोजनासँग सम्बद्ध स्रोतका अनुसार आदमघाटदेखि मलेखुसम्म ७४ वटा पोल स्थानान्तरण गर्नुपर्ने भए पनि अधिकांश पोल अझै यथास्थानमै छन्। केही स्थानमा नयाँ पोल जडान गरिए पनि पुराना संरचनामा अझै विद्युत् प्रवाह भइरहेकाले निर्माण कार्यसँगै सुरक्षा चुनौती समेत देखिएको छ।

आयोजनाका एक कर्मचारीका अनुसार पोल स्थानान्तरण ढिलाइ हुँदा सडक विस्तारको गति प्रभावित भएको छ। ‘निर्माणस्थलमा विद्युतीय जोखिम कायम रहेकाले काम अघि बढाउन कठिनाइ भइरहेको छ,’ उनले बताए।

नागढुंगा–मुग्लिन सडकखण्डभर विद्युत् पोल स्थानान्तरणका लागि १२ करोड रुपैयाँभन्दा बढी लागत अनुमान गरिएको छ। त्यसमध्ये पूर्वी खण्डका लागि मात्रै ६ करोड रुपैयाँभन्दा बढी खर्च हुने प्रक्षेपण छ। आयोजनाले यसअघि नै करिब ५ करोड रुपैयाँ नेपाल विद्युत् प्राधिकरणलाई भुक्तानी गरिसकेको जनाएको छ भने बाँकी रकम आवश्यक प्रक्रिया पूरा भएपछि उपलब्ध गराइने तयारी रहेको स्रोतको भनाइ छ।

अनुगमनपछि मन्त्री लम्सालले पोल स्थानान्तरण कार्य यथाशीघ्र सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। स्थानीयवासीले लामो समयदेखि सडक निर्माण ढिलाइका कारण सास्ती व्यहोर्नुपरेको उल्लेख गर्दै उनले समन्वयात्मक ढंगले काम अघि बढाउन आग्रह गरेका थिए।

यसैबीच, मन्त्री लम्सालको अभिव्यक्ति सार्वजनिक भएपछि त्यसबारे सामाजिक तथा राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया देखिएका छन्। सरकारी पदमा रहेका व्यक्तिको सार्वजनिक अभिव्यक्तिको शैली र जिम्मेवारीबारे समेत बहस सुरु भएको छ।

उल्लेखनीय रूपमा, सोही दिन प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘देश बनाउने टोली’ शीर्षकसहित पूर्वाधार विकास मन्त्री लम्साल र गृहमन्त्री सुधन गुरुङसँगको तस्बिर सार्वजनिक गरेका थिए।