प्रतिभा प्रस्फुटनमा मेरिल्याण्ड कलेज : ‘ट्यालेन्ट हन्ट’को उपाधि माही अटललाई

Breaking Nepal

सोमबार ,असार १ , २०८३ १६:२६

विराटनगर / शैक्षिक उपलब्धिसँगै विद्यार्थीभित्र निहित सिर्जनात्मक क्षमता र प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजित ‘मेरिल्याण्ड इन्ट्रा कलेज विविएस ट्यालेन्ट हन्ट’को उपाधि माही अटलले जितेकी छन् ।

विराटनगर–७, रंगेली रोडस्थित मेरिल्याण्ड कलेजले सोमबार आयोजना गरेको प्रतियोगितामा विविएस दोस्रो वर्षमा अध्ययनरत अटलले उत्कृष्ट प्रस्तुति दिँदै पहिलो स्थान हासिल गरेकी हुन् । प्रतियोगितामा १८ टोलीबाट २५ जना विद्यार्थी सहभागी भएका थिए ।

प्रतियोगिताको दोस्रो स्थान विविएस दोस्रो सेमेस्टरमा अध्ययनरत करिना राई र प्रथा मगरले प्राप्त गरे । उनीहरूले प्रस्तुत गरेको नृत्यले निर्णायक तथा दर्शकको प्रशंसा बटुलेको थियो । त्यस्तै, स्नेहा छगानिया र ललित दासले आकर्षक नृत्य प्रस्तुत गर्दै तेस्रो स्थान सुरक्षित गरे ।

विजेता तथा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए । उनका अनुसार कलेजले नियमित पठनपाठनसँगै विद्यार्थीहरूको नेतृत्व, सिर्जनशीलता तथा बहुआयामिक क्षमताको विकासलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ ।

कार्यक्रममा कलेजका प्रिन्सिपल ढकालसहित निर्देशक भेषराज पोखरेल, प्राध्यापक पी.के. झा, डा. मनोज गुप्ता, प्रदीप भगत, नन्दकिशोर अग्रवाल, डा. शिवनारायण यादव, डा. पेशल पोखरेललगायतले विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेका थिए ।

यसैबीच, कलेजले विविएस दोस्रो वर्षका विद्यार्थी रजनिश न्यौपानेलाई पनि सम्मान गरेको जनाएको छ । न्यौपानेले नेपाल बीमा प्राधिकरण, कोशी प्रदेशले आयोजना गरेको प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा प्रथम स्थान हासिल गरेका थिए ।

कलेज प्रशासनका अनुसार शैक्षिक उत्कृष्टतासँगै अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको समग्र व्यक्तित्व विकासमा टेवा पुर्‍याउने लक्ष्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ ।