Breaking Nepal

विराटनगर / महिला उद्यमीहरूको नेतृत्व क्षमता, प्रभावकारी सञ्चार कला तथा सार्वजनिक प्रस्तुतीकरण सीप अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको तीनदिने ‘प्रभावकारी सार्वजनिक प्रस्तुतीकरण तथा कार्यक्रम सञ्चालन सीप विकास तालिम’ सम्पन्न भएको छ ।

मोरङ उद्योग व्यापार संघअन्तर्गत महिला उद्यम समितिको आयोजना तथा विराटनगर महानगरपालिकाको सहयोगमा सञ्चालित तालिममा मोरङका २५ जना महिला उद्यमी सहभागी भएका थिए । तालिममा सार्वजनिक प्रस्तुतीकरण, वक्तृत्वकला, सञ्चार सीप, कार्यक्रम सञ्चालन विधि, आत्मविश्वास अभिवृद्धि तथा व्यवहारिक अभ्याससम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो ।
तालिम उद्घाटन कार्यक्रममा महिला उद्यम समितिकी सह–संयोजक साधना झाको अध्यक्षता तथा मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष अनिल सारडाको प्रमुख आतिथ्यता रहेको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै सारडाले व्यवसायमा सफलता हासिल गर्न उत्पादन वा सेवाको गुणस्तरसँगै त्यसलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने क्षमता पनि उत्तिकै महत्वपूर्ण हुने बताए ।
उनले महिला उद्यमीहरूले आफ्ना विचार, उत्पादन तथा व्यवसायिक पहिचानलाई आत्मविश्वासपूर्वक सार्वजनिक गर्न सक्ने सीप विकास गर्नु वर्तमान प्रतिस्पर्धी बजारको आवश्यकता भएको उल्लेख गरे । यस्ता सीपमूलक तालिमले महिला उद्यमीहरूको आत्मविश्वास वृद्धि गर्दै व्यवसाय विस्तार र प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने उनको भनाइ थियो ।
तालिममा सञ्चारकर्मी तथा प्रशिक्षक भागिरथकुमार पोखरेलले सहजीकरण गरेका थिए । प्रशिक्षणका क्रममा सहभागीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अभ्याससमेत गराइएको थियो । सहभागीहरूले सार्वजनिक रूपमा बोल्ने कला, कार्यक्रम सञ्चालनका आधारभूत तथा उन्नत प्रविधि, शारीरिक भाषा (बडी ल्याङ्ग्वेज), आवाजको प्रभावकारी प्रयोग, प्रस्तुतीकरण कला तथा श्रोतासँग प्रभावकारी संवाद स्थापित गर्ने विषयमा अभ्यास गरेका थिए ।
समापन समारोहमा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले तालिमबाट प्राप्त ज्ञान, अनुभव र सीपले महिला उद्यमीहरूको व्यवसायिक तथा व्यक्तिगत विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उद्यमशीलताको विकासका लागि प्राविधिक दक्षतासँगै प्रभावकारी सञ्चार र प्रस्तुतीकरण क्षमता पनि अपरिहार्य रहेको उल्लेख गर्दै उनले यस्ता क्षमता विकास कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिइने प्रतिबद्धता जनाए ।
संघका महासचिव संजय श्रेष्ठले तालिमबाट हासिल गरिएको ज्ञान र सिकाइलाई व्यवहारमा उतार्दै महिला उद्यमीहरूले आर्थिक तथा सामाजिक क्षेत्रमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे ।
महिला उद्यम समितिकी सह–संयोजक साधना झाले महिला उद्यमीहरूको सशक्तीकरण र क्षमता विकासका लागि यस्ता तालिम अत्यन्त उपयोगी हुने बताइन् । तालिमले सहभागीहरूको सार्वजनिक प्रस्तुतीकरण, भाषण कला तथा कार्यक्रम सञ्चालन क्षमतामा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गर्दै उनले सहयोगी संस्था, प्रशिक्षक तथा सहभागीप्रति आभार व्यक्त गरिन् ।
सहभागी महिला उद्यमीहरूले तालिमबाट सार्वजनिक रूपमा आत्मविश्वासका साथ बोल्न सक्ने क्षमता, कार्यक्रम सञ्चालनसम्बन्धी व्यावहारिक ज्ञान तथा व्यवसाय प्रवर्द्धनका लागि आवश्यक प्रस्तुतीकरण सीप हासिल भएको प्रतिक्रिया दिएका छन् । उनीहरूले आगामी दिनमा पनि यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमलाई निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
मोरङ उद्योग व्यापार संघले महिला उद्यमीहरूको नेतृत्व विकास, व्यवसायिक क्षमता अभिवृद्धि तथा उद्यमशीलता प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।