Breaking Nepal

काठमाडौं / चालु आर्थिक वर्ष २०८१/८२ सकिन एक महिना मात्रै बाँकी रहँदा विकास निर्माण र पूर्वाधार क्षेत्रसँग प्रत्यक्ष सम्बन्धित पुँजीगत खर्च अपेक्षाअनुसार अघि बढ्न सकेको छैन । सरकारले विनियोजन गरेको कुल पुँजीगत बजेटको झण्डै एकतिहाइ मात्रै खर्च भएको देखिएको छ ।
महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ११ महिनामा पुँजीगततर्फ एक खर्ब ३२ अर्ब ६६ करोड ७७ लाख रुपैयाँ खर्च भएको छ । यो रकम वार्षिक लक्ष्यको ३२.५३ प्रतिशत मात्रै हो ।
सरकारले चालु आर्थिक वर्षका लागि पुँजीगत खर्चतर्फ चार खर्ब सात अर्ब ८८ करोड ८० लाख रुपैयाँ विनियोजन गरेको थियो । आर्थिक वर्षको अन्तिम महिना सुरु भइसके पनि विकास निर्माणका आयोजना तथा पूर्वाधार कार्यक्रमको खर्चले गति लिन नसक्दा पुँजीगत बजेट कार्यान्वयन कमजोर देखिएको हो ।
यता, चालु खर्च भने तुलनात्मक रूपमा उच्च रहेको छ । चालु आर्थिक वर्षमा चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएकोमा ११ महिनाको अवधिमा ७६.९१ प्रतिशत खर्च भइसकेको छ ।
त्यसैगरी वित्तीय व्यवस्थापनतर्फ वार्षिक तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ खर्च गर्ने लक्ष्य निर्धारण गरिएकोमा हालसम्म तीन खर्ब पाँच अर्ब ७१ करोड ८१ लाख रुपैयाँ खर्च भइसकेको छ ।
हरेक वर्षझैँ चालु आर्थिक वर्षमा पनि विकास बजेट खर्चको गति सुस्त देखिएको छ । आर्थिक वर्षको अन्त्यतिर मात्रै खर्च बढाउने प्रवृत्ति दोहोरिने संकेत देखिएसँगै पुँजीगत बजेटको प्रभावकारी कार्यान्वयनमा सरकारी संयन्त्रको क्षमता र आयोजना व्यवस्थापनमाथि पुनः प्रश्न उठ्न थालेको छ ।