आर्थिक पुनरुत्थान र निजी क्षेत्रको मनोबल उकास्ने मौद्रिक नीति ल्याउन मोरङका उद्योगी–बैंकरको सुझाव

Breaking Nepal

बिहीबार ,असार ४ , २०८३ १६:५९

विराटनगर / आर्थिक गतिविधिमा देखिएको सुस्तता अन्त्य गर्दै लगानी, उत्पादन र रोजगारी विस्तारमा टेवा पुग्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन उद्योगी, व्यवसायी तथा बैंकिङ क्षेत्रका प्रतिनिधिहरूले सुझाव दिएका छन् ।

उद्योग संगठन मोरङले बुधबार विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने तथा निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्ने दिशामा मौद्रिक नीति केन्द्रित हुनुपर्ने धारणा राखेका हुन् ।

कार्यक्रममा संगठनका अध्यक्ष नन्दकिशोर राठीले अर्थतन्त्र पुनरुत्थानका लागि लगानीमैत्री वातावरण निर्माण, उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह विस्तार तथा व्यवसाय सञ्चालन लागत घटाउने नीति आवश्यक रहेको बताए । आगामी मौद्रिक नीति मुद्रा व्यवस्थापनमा मात्र सीमित नभई आर्थिक पुनरुत्थानको प्रभावकारी औजारका रूपमा आउनुपर्ने उनको भनाइ थियो ।

संगठनका निवर्तमान अध्यक्ष राकेश सुरानाले पुनर्कर्जा र कर्जा पुनर्संरचना सम्बन्धी व्यवस्थामा व्यावहारिक सुधार आवश्यक रहेको उल्लेख गर्दै व्यवसायीलाई पुनः लगानीतर्फ आकर्षित गर्ने नीति ल्याउन आग्रह गरे ।

उपाध्यक्ष सुरेन्द्र गोल्छाले सरकारले सार्वजनिक गरेको बजेटका सकारात्मक व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने तथा निजी क्षेत्रको मनोबल उकास्ने खालको मौद्रिक नीति आवश्यक रहेको बताए ।

बैंकर सुलभहरि जोशीले वित्तीय अनुशासन र कारोबारी पारदर्शिता कायम गर्न उधारो कारोबार व्यवस्थापनसम्बन्धी स्पष्ट कानुनी संरचना आवश्यक रहेको औंल्याए । उनले उधारो असुलीसम्बन्धी छुट्टै कानुन निर्माण गर्नुपर्ने सुझाव दिए ।

चार्टर्ड एकाउन्टेन्ट अश्वनी वंशलले बैंकिङ क्षेत्रमा रहेको अधिक तरलतालाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्ने उपायमा मौद्रिक नीति केन्द्रित हुनुपर्ने बताए । चालु पुँजी कर्जासम्बन्धी व्यवस्थालाई थप लचिलो बनाउँदै ७० प्रतिशतसम्म कर्जा प्रवाहको व्यवस्था गर्नुपर्ने उनको धारणा थियो ।

बैंकर दिनेशकुमार पोखरेलले उद्योग, सेवा, कृषि उत्पादन तथा प्रशोधन क्षेत्रका नयाँ परियोजनालाई प्रोत्साहन गर्न र सञ्चालनमा रहेका उद्योगहरूको उत्पादन क्षमता विस्तारका लागि कम्तीमा पाँच वर्षसम्म आधारदरमा अधिकतम २ प्रतिशत बिन्दुसम्म थपिने स्थिर ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था गर्न सुझाव दिए ।

त्यसैगरी, बैंकर बद्री कटवालले मौद्रिक नीतिले निजी क्षेत्रका आर्थिक गतिविधिलाई प्रत्यक्ष प्रभाव पार्ने भएकाले नीति निर्माणमा तथ्यांकमा आधारित विश्लेषण, क्षेत्रगत आवश्यकता तथा व्यवहारिक पक्षलाई प्राथमिकता दिनुपर्ने बताए ।

कार्यक्रममा सहभागी उद्योगी, बैंकर तथा चार्टर्ड एकाउन्टेन्टहरूले उत्पादन, लगानी, रोजगारी र निर्यात प्रवर्द्धनमार्फत अर्थतन्त्रलाई पुनः चलायमान बनाउन आगामी मौद्रिक नीतिमा निजी क्षेत्रमैत्री व्यवस्था समेट्नुपर्नेमा जोड दिएका थिए ।