ट्राफिक प्रहरीका सई साहको पहलमा हाटखोलामा ट्राफिक पोस्ट स्थापना

Breaking Nepal

बिहीबार ,असार ४ , २०८३ २१:४४

विराटनगर / मोरङको अत्यधिक सवारी चाप हुने क्षेत्र हाटखोला चोकमा स्थायी ट्राफिक प्रहरी पोस्ट स्थापना भएको छ । लामो समयदेखि आफ्नै कार्यालयविहीन अवस्थामा सेवा दिँदै आएका ट्राफिक प्रहरीका लागि अब व्यवस्थित कार्यस्थल तयार भएको छ ।

विराटनगर महानगरपालिका–८ स्थित हाटखोलामा स्थापना गरिएको ट्राफिक पोस्टको उद्घाटन नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरी र कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले संयुक्त रूपमा गरेका हुन् ।

ट्राफिक पोस्ट स्थापनाको पहल ट्राफिक प्रहरी नायब निरीक्षक प्रेम साहले गरेका थिए । सरुवा भइसकेपछि पनि उनले विभिन्न निकायसँग समन्वय गर्दै अभियानलाई निरन्तरता दिएका कारण पोस्ट स्थापना सम्भव भएको हो । पोस्ट सञ्चालनका लागि मोरङ कारागारले भवन उपलब्ध गराएको छ भने कटहरी गाउँपालिकाले कम्प्युटर तथा प्रिन्टर र जहदा गाउँपालिकाले फर्निचर सहयोग गरेको छ ।

उद्घाटन कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपाने, मोरङ कारागारका प्रमुख राजन घिमिरे, सशस्त्र प्रहरी बलका डीएसपी बालकृष्ण श्रेष्ठलगायत सरकारी तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरीक्षक गिरीले ट्राफिक व्यवस्थापनलाई नागरिक र सरोकारवाला निकायको साझा दायित्वका रूपमा लिनुपर्ने बताए । उनले आधुनिक प्रविधिको प्रयोग विस्तार गर्न तथा ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरे ।

नयाँ ट्राफिक पोस्ट सञ्चालनमा आएपछि हाटखोला क्षेत्रको ट्राफिक व्यवस्थापन थप प्रभावकारी हुने विश्वास व्यक्त गर्दै नायब निरीक्षक शाहले सर्वसाधारणले आधारभूत ट्राफिक सेवाका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयसम्म पुग्नुपर्ने बाध्यता अन्त्य हुने बताए ।

सरुवाको अन्तिम चरणमा रहेका शाहले भोगेका समस्या समाधान गर्दै स्थायी संरचना निर्माण गरेर उदाहरण प्रस्तुत गरेका छन् । हाटखोलाको ट्राफिक पोस्टलाई केवल कार्यालय नभई सेवाभाव, प्रतिबद्धता र दूरदर्शी नेतृत्वको प्रतिफलका रूपमा हेरिएको छ ।