कोशी प्रदेशबाट मनसुन भित्रियो, देशभर फैलिन अझै केही दिन लाग्ने

Breaking Nepal

शुक्रबार ,असार ५ , २०८३ १९:२८

विराटनगर /  यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशबाट नेपालमा प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबारदेखि कोशी प्रदेशका केही भूभागमा मनसुन सक्रिय भएको हो ।

विभागले जारी गरेको मौसम बुलेटिनअनुसार हाल मनसुन प्रणाली कमजोर अवस्थामा रहेकाले यसको विस्तार तत्काल देशभर हुने सम्भावना कम देखिएको छ । मनसुन क्रमशः पश्चिमतर्फ सर्ने भए पनि अन्य प्रदेशमा पूर्ण रूपमा फैलिन अझै केही दिन लाग्ने विभागको अनुमान छ ।

नेपालमा सामान्यतः पूर्वी नाकाबाट मनसुन भित्रिने सरदर मिति जुन १३ मानिन्छ। तर यस वर्ष मनसुन सरदरभन्दा ६ दिन ढिलो गरी जुन १९ मा कोशी प्रदेश हुँदै नेपाल प्रवेश गरेको विभागले जनाएको छ ।

मौसमविद्हरूका अनुसार मनसुन सक्रिय भएसँगै कोशी प्रदेशका विभिन्न जिल्लामा वर्षाको सम्भावना बढेको छ । यद्यपि प्रारम्भिक चरणमा प्रणाली कमजोर रहेकाले व्यापक तथा लगातार वर्षा हुने अवस्था भने तत्काल नदेखिएको विभागले स्पष्ट पारेको छ ।

कृषि, खानेपानी तथा जलस्रोतसँग प्रत्यक्ष सरोकार राख्ने मनसुन ढिलो भित्रिए पनि अब क्रमिक रूपमा देशभर वर्षायामको प्रभाव बढ्दै जाने अपेक्षा गरिएको छ । विभागले मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा अवलोकन गर्न सर्वसाधारणलाई आग्रह गरेको    छ ।