Breaking Nepal

गाईघाट / महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको एक स्कुल बस उदयपुरमा दुर्घटनाग्रस्त हुँदा ३२ जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरीका अनुसार बा.२ ख ६४३८ नम्बरको बस शनिबार बिहान करिब ९ बजे उदयपुरगढी गाउँपालिका–७ स्थित अँधेरी क्षेत्रमा दुर्घटनामा परेको हो। दुर्घटनापछि बस सडकबाट करिब २५ मिटर तल खसेको बताइएको छ ।
दुर्घटनामा घाइते भएका यात्रुहरूको प्रहरी तथा स्थानीयवासीको सहयोगमा तत्काल उद्धार गरिएको थियो। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक विवरणअनुसार दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनास्थलबाट थप तथ्य तथा प्रमाण संकलन गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रहरीले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन आवश्यक अनुसन्धान अघि बढाएको छ। घाइतेहरूको अवस्था तथा दुर्घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको जनाइएको छ ।