Breaking Nepal

विराटनगर / विराटनगर महानगरपालिका र मोरङको बूढीगंगा गाउँपालिकाका विभिन्न राजनीतिक दलका दर्जनौं कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमाले विराटनगर–१५ वडा कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय ऊर्जाशील पार्टी नेपालका केन्द्रीय सदस्यद्वय अनिल खतिवडा र धर्मेन्द्र ऋषिदेवसहित विभिन्न दलका नेता तथा कार्यकर्ताले एमाले रोजेका हुन् । नवप्रवेशीमध्ये ऋषिदेव मुसहर संघ कोशी प्रदेशका कार्यवाहक अध्यक्षसमेत हुन् । खतिवडा र ऋषिदेव दुवै गत प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय ऊर्जाशील पार्टीका तर्फबाट समानुपातिक सांसद उम्मेदवार रहेका थिए ।

कार्यक्रममा विराटनगरका वडा नं. १५, १६, १७, १८ तथा बूढीगंगा गाउँपालिकाबाट उल्लेख्य संख्यामा कार्यकर्ता एमालेमा प्रवेश गरेको आयोजकले जनाएको छ । एमालेले यसलाई आगामी राजनीतिक समीकरण र संगठन विस्तारका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज ऋषिकेश पोखरेल, विशिष्ट अतिथि एमाले केन्द्रीय सदस्य तथा विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीलगायतले अविर, माला र खादा लगाइदिएर पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले मुलुकको राजनीतिक स्थायित्व, विकास र समृद्धिको एजेन्डाले नागरिकलाई एमालेतर्फ आकर्षित गरिरहेको दाबी गरे । उनले विभिन्न दलका नेता तथा कार्यकर्ताको एमालेप्रतिको बढ्दो आकर्षणले पार्टीको जनाधार थप सुदृढ भएको बताए ।

विशिष्ट अतिथि कार्कीले एमालेले समावेशी विकास र जनमुखी राजनीतिको अभ्यास गरिरहेको उल्लेख गर्दै नवप्रवेशीलाई पार्टीभित्र सम्मानजनक भूमिका दिइने बताइन् ।

एमाले वडा नं. १५ का अध्यक्ष भिखारी खत्वेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेश सदस्यहरू बाबुराम कार्की, विक्रम तिवारी, रिता न्यौपाने, मनोज अग्रवाल र सन्तोषी श्रेष्ठ, एमाले विराटनगर महानगर अध्यक्ष बलराम गिरि, उपसचिव हमिद अजाद तथा विराटनगर–१४ का वडाध्यक्ष सूर्यनारायण महतोलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
तस्बिर – नविन निरौला