Breaking Nepal

काठमाडौं / मध्यपूर्वमा तनाव पुनः चर्किने संकेत देखिएको छ। इरानले रणनीतिक महत्त्वको होर्मुज जलमार्ग पुनः बन्द गर्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय ऊर्जा आपूर्ति, समुद्री व्यापार तथा विश्व अर्थतन्त्रमा सम्भावित प्रभावबारे चिन्ता बढेको छ।
इरानले दक्षिणी लेबनानमा इजरायलले जारी राखेको सैन्य कारबाहीको विरोधस्वरूप होर्मुज जलमार्गमा जहाजहरूको आवतजावत रोक्ने निर्णय सार्वजनिक गरेको हो। इरानको संयुक्त सैन्य कमान्डले शनिबार जारी गरेको विज्ञप्तिमा उक्त जलमार्गबाट हुने सम्पूर्ण समुद्री यातायात तत्काल प्रभावबाट बन्द गरिएको उल्लेख गरिएको छ।
इरानी सरकारी सञ्चारमाध्यममार्फत प्रसारित ‘खाताम–अल अम्बिया सेन्ट्रल हेडक्वार्टर’को आधिकारिक वक्तव्यमा भनिएको छ, “होर्मुज जलमार्गमा सबै प्रकारका जहाजहरूको आवतजावत बन्द गरिएको घोषणा गरिन्छ।”
इरानले आफ्नो निर्णयलाई हालै अमेरिकासँग भएको अन्तरिम समझदारीको उल्लंघनविरुद्धको प्रारम्भिक प्रतिक्रिया भएको दाबी गरेको छ। वक्तव्यमा चेतावनी दिँदै भनिएको छ, “यदि आक्रामक गतिविधि निरन्तर रह्यो भने शत्रुपक्षलाई आफ्ना प्रतिबद्धता पूरा गर्न बाध्य बनाउन थप कदम क्रमिक रूपमा चालिनेछन्।”
यसअघि अमेरिका–इरानबीच अन्तरिम सहमति भएपछि केही समय अवरुद्ध रहेको होर्मुज जलमार्गमार्फत मालवाहक जहाजहरूको आवागमन पुनः सञ्चालनमा आएको थियो। तर इरानको पछिल्लो घोषणाले क्षेत्रीय कूटनीतिक प्रयासमाथि पुनः प्रश्न उठाएको छ।
अमेरिकी सेना उच्च सतर्कतामा
इरानको घोषणापछि अमेरिकी सेनाले पनि क्षेत्रीय गतिविधि नजिकबाट निगरानी गरिरहेको जनाएको छ। अमेरिकी केन्द्रीय कमान्ड ९सेन्टकम० ले जारी गरेको विज्ञप्तिमा सम्झौताका प्रावधानहरू प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको सुनिश्चित गर्न अमेरिकी सेना उच्च सतर्कतासहित क्षेत्रमा तैनाथ रहेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “इरानसँग भएको सम्झौताका सबै पक्षले पूर्ण रूपमा पालना गरिरहेका छन् भन्ने सुनिश्चित गर्न तथा त्यसको कार्यान्वयनको निगरानी गर्न अमेरिकी सेना यस क्षेत्रमा सक्रिय रूपमा उपस्थित रहनेछ।”
विश्व बजारमा प्रभावको आशंका
विश्वको कच्चा तेल आपूर्तिको ठूलो हिस्सा होर्मुज जलमार्ग हुँदै ओसारपसार हुने भएकाले यसको सम्भावित अवरोधले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा मूल्यवृद्धिको दबाब सिर्जना गर्न सक्ने विश्लेषण गरिएको छ। मध्यपूर्वको बढ्दो भू–राजनीतिक तनावले तेल तथा ग्यास आपूर्तिसँगै समुद्री व्यापार र लगानी बजारमा समेत थप अनिश्चितता बढाउने संकेत देखिएको छ।