उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राउतलाई ‘कर्पोरेट इन्डष्ट्री लिडर अवार्ड’ निजी क्षेत्र प्रवर्द्धनमा योगदानको कदर

Breaking Nepal

आइतबार ,असार ७ , २०८३ ०७:३३

विराटनगर / पूर्वी नेपालको औद्योगिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय नेतृत्वकर्ता राजेन्द्र राउत राष्ट्रिय स्तरको प्रतिष्ठित ‘कर्पोरेट इन्डष्ट्री लिडर अवार्ड–२०२६’ बाट सम्मानित भएका छन् ।

कर्पोरेट मिडिया ग्रुपले आयोजना गरेको १८औँ ‘कर्पोरेट बिजनेस समिट एण्ड अवार्ड’ अन्तर्गत नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) कोशी प्रदेशका अध्यक्षसमेत रहेका राउतलाई उक्त सम्मान प्रदान गरिएको हो । काठमाडौंमा आयोजित समारोहमा प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले राउतलाई अवार्ड हस्तान्तरण गरेका थिए ।

उद्योग, लगानी तथा उद्यमशीलताको विस्तारमा दीर्घकालीन योगदान पुर्‍याएको मूल्यांकनका आधारमा राउतलाई सम्मान गरिएको आयोजकले जनाएको छ । खानी, सिमेन्ट, अटोमोबाइल तथा गार्मेन्ट उद्योगमा सक्रिय शिवम् अर्गनाइजेसनको नेतृत्व गर्दै आएका राउतले पूर्वी नेपालको औद्योगिक विकासमा उल्लेखनीय भूमिका खेलेका छन् ।

व्यवसायिक वातावरण सुधार, निजी क्षेत्रका समस्या समाधान तथा लगानीमैत्री नीतिको पैरवीमा सक्रिय रहेका राउतले कोशी प्रदेशमा उद्योग व्यवसाय विस्तारका लागि विभिन्न पहल अघि बढाएका छन् । निजी क्षेत्र र सरकारबीच सहकार्य अभिवृद्धि गर्न उनले खेलेको भूमिकालाई समेत सम्मानको आधार बनाइएको जनाइएको छ ।

कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्ज्वल जंग शाहका अनुसार आर्थिक विकास, उत्पादनमूलक उद्योग प्रवर्द्धन तथा रोजगारी सिर्जनामा योगदान दिने व्यक्तित्व र संस्थालाई प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड कार्यक्रम आयोजना गरिएको हो ।

यस वर्ष ‘कर्पोरेट एक्सिलेन्स’, ‘बैंकिङ, इन्स्योरेन्स एण्ड फाइनान्स’, ‘कर्पोरेट इन्डष्ट्री लिडरसिप’, ‘कर्पोरेट बिजनेस लिडरसिप’ तथा ‘लाइफटाइम एचिभमेन्ट’ गरी पाँच विधामा २९ वटा सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।

विगत डेढ दशकभन्दा बढी समयदेखि सञ्चालन हुँदै आएको उक्त अवार्ड कार्यक्रमले उद्योग, बैंकिङ, बीमा, ऊर्जा, स्वास्थ्य तथा उद्यमशीलता क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्ति र संस्थाको योगदानलाई राष्ट्रिय स्तरमा उजागर गर्दै आएको छ ।