होटल व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादनमा जोड, अरनिकोमा नवविद्यार्थी अभिमुखीकरण

Breaking Nepal

आइतबार ,असार ७ , २०८३ ०७:३७

विराटनगर / पर्यटन तथा आतिथ्य उद्योगका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित विराटनगरस्थित अरनिको कलेजले होटल व्यवस्थापन संकायका नवप्रवेशी विद्यार्थीलाई लक्षित गर्दै अभिमुखीकरण तथा स्वागत कार्यक्रम आयोजना गरेको छ।

विराटनगर–१० मा रहेको कलेजले कक्षा ११ होटल व्यवस्थापन संकायको २१औँ ब्याचमा अध्ययन प्रारम्भ गरेका विद्यार्थीलाई शैक्षिक संरचना, व्यवहारिक सिकाइ प्रणाली तथा व्यावसायिक अवसरबारे जानकारी गराएको हो। कार्यक्रममा होटल तथा आतिथ्य व्यवस्थापन क्षेत्रको बढ्दो सम्भावना, सीपमूलक शिक्षाको आवश्यकता र उद्योगसँगको शैक्षिक सहकार्यका विषयमा विशेष छलफल गरिएको थियो।

कार्यक्रममा बोल्दै सास्थम कलेजका क्याम्पस प्रमुख विनय केसीले पर्यटन उद्योगको विस्तारसँगै दक्ष जनशक्तिको माग तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै विद्यार्थीलाई शैक्षिक उत्कृष्टतासँगै व्यवहारिक सीप विकासमा केन्द्रित हुन आग्रह गरे। गुणस्तरीय शिक्षा र उद्योगमैत्री अध्ययन प्रणालीमार्फत होटल व्यवस्थापन शिक्षालाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको उनले बताए।

कलेज व्यवस्थापनका अनुसार होटल व्यवस्थापन अध्ययनलाई रोजगार तथा उद्यमशीलतासँग जोड्ने उद्देश्यले पाठ्यक्रमसँगै प्रयोगात्मक सिकाइ, उद्योग अवलोकन र व्यक्तित्व विकास कार्यक्रमलाई प्राथमिकता दिइँदै आएको छ।

अभिमुखीकरण कार्यक्रममा सास्थम कलेजका प्रवन्ध निर्देशक रोशनबहादुर थापा, प्रशासन प्रमुख राजेश गुरुङ, बीएचएम कार्यक्रम निर्देशक शैलेन्द्र गणेश, बीबीए प्लस टु संयोजक सुशील खनाल तथा क्याम्पस व्यवस्थापक महेश्वर सिंहले विद्यार्थीलाई अध्ययन पद्धति, शैक्षिक अनुशासन तथा करियर विकासका सम्भावनाबारे जानकारी गराएका थिए।

कार्यक्रममा वरिष्ठ विद्यार्थीले सांस्कृतिक प्रस्तुति, गीत तथा नृत्यमार्फत नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेका थिए। हाल सास्थम कलेजमा बीएचएम, बीबीए, एमबीए तथा एमबीएचएम कार्यक्रम सञ्चालनमा रहेका छन् भने ६ सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको कलेजले जनाएको छ।