Breaking Nepal

विराटनगर / मोरङ जिल्ला कारागारमा कैद सजाय भुक्तान गरिरहेका एक वृद्ध कैदीको उपचारका क्रममा मृत्यु भएको छ। स्वास्थ्य अवस्था अचानक बिग्रिएपछि अस्पताल भर्ना गरिएका ७० वर्षीय रामप्रसाद दाहालको आइतबार बिहान निधन भएको कारागार प्रशासनले जनाएको छ ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–६ निवासी दाहाल केही समयदेखि कैद सजाय भुक्तान गरिरहेका थिए । शनिबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो । चक्कर लाग्ने तथा श्वासप्रश्वासमा कठिनाइ देखिएपछि अस्पताल भर्ना गरिएका दाहालको उपचारकै क्रममा अवस्था जटिल बनेको र आइतबार बिहान करिब २ बजे मृत्यु भएको कारागार प्रशासनले जानकारी दिएको छ ।
कारागार प्रशासनका अनुसार दाहाल बिरामी परे लगत्तै उनका परिवारजन र आफन्तलाई जानकारी गराइएको थियो । अस्पतालमा उपचार भइरहेका बेला परिवारका सदस्यहरूको उपस्थितिमै उनको निधन भएको हो ।
दाहाल जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई १६ वर्षको कैद सजाय भुक्तान गरिरहेका थि ए। उनी २०७५ सालदेखि कारागारमा रहेका थिए भने अदालतको फैसलाअनुसार २०९१ साल पुससम्म कैद सजाय भुक्तान गर्नुपर्ने अवस्था थियो । तर सजाय अवधि समाप्त हुन अझै लामो समय बाँकी रहँदै उनको मृत्यु भएको हो ।
कारागार स्रोतका अनुसार दाहालले हालसम्म करिब साढे सात वर्ष कैद जीवन बिताइसकेका थिए । उनको शव हाल कोशी अस्पतालमा राखिएको छ भने कानुनी प्रक्रिया पूरा गरी परिवारलाई बुझाउने तयारी भइरहेको छ ।
यसैबीच, जिल्ला कारागार मोरङमा हाल १ हजार २ सय ८ जना कैदीबन्दी रहेका छन् । तीमध्ये १ सय १० महिला, १ हजार ९७ पुरुष तथा एक आश्रित बालिका रहेको कारागार प्रशासनको तथ्यांक छ।