शान्तिचोकमा युवाको नयाँ अभियान : समाज परिवर्तनको लक्ष्यसहित युवा समूह गठन

Breaking Nepal

सोमबार ,असार ८ , २०८३ १५:५४

विराटनगर / सामाजिक एकता, युवा नेतृत्व विकास, स्वास्थ्य सचेतना तथा समाजसेवालाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यसहित स्थापना गरिएको ‘शान्तिचोक युवा समूह’को उद्घाटन तथा पदस्थापन कार्यक्रम विराटनगरमा भव्य रूपमा सम्पन्न भएको छ ।

विराटनगर महानगरपालिका–१, शान्तिचोकमा आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बुले समूहको औपचारिक उद्घाटन गरेका हुन् । संस्थाका अध्यक्ष सन्तोष महत (स्यान्ट्रो)को सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य गणेश उप्रेती विशिष्ट अतिथि रहेका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटुवाल, विराटनगर–१ का वडाध्यक्ष काजी बस्नेत, समाजसेवी कृष्ण कार्की, राजन न्यौपानेलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, सामाजिक अभियन्ता तथा स्थानीय अगुवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमको प्रारम्भमा संस्थाका सचिव गोविन्द श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै समूह स्थापनाको उद्देश्य र भावी योजनाबारे जानकारी गराएका थिए । कार्यक्रममा करिब ३०० घरपरिवारका प्रतिनिधि, महिला तथा पुरुषहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री लिम्बुले समाज विकास, स्वास्थ्य प्रवर्द्धन र युवा नेतृत्व निर्माणमा युवाहरूको सक्रिय भूमिका अपरिहार्य रहेको बताए । उनले शान्तिचोक युवा समूहले समुदायमा सकारात्मक परिवर्तन ल्याउने अभियानको नेतृत्व गर्ने विश्वास व्यक्त गरे ।

अन्य वक्ताहरूले पनि संस्थाको सफलताको शुभकामना व्यक्त गर्दै सामाजिक सेवा, मानव कल्याण, वातावरण संरक्षण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राख्न सुझाव दिएका थिए ।

संस्थाले आगामी दिनमा योग तथा स्वास्थ्य सचेतना, युवा क्षमता अभिवृद्धि, सामाजिक सेवा, विपन्न तथा असहाय समुदायलाई सहयोग, वातावरण संरक्षण तथा सामुदायिक विकासका कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ ।

त्यसैगरी, समुदायमा सुरक्षा तथा जनचेतना अभिवृद्धि गर्ने, लागूऔषध दुव्र्यसनविरुद्ध अभियान सञ्चालन गर्ने, युवाहरूलाई सकारात्मक तथा सिर्जनात्मक गतिविधिमा आबद्ध गराउने, विपद् व्यवस्थापन तथा उद्धार कार्यमा सहकार्य गर्ने तथा बाढी, डुबान, आगलागी लगायत प्राकृतिक विपत्तिका बेला प्रभावित नागरिकको साथमा रहने प्रतिबद्धता संस्थाले जनाएको छ ।

कार्यक्रमको समापनमा अध्यक्ष महतले संस्थाको स्थापना तथा उद्घाटन कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, शुभेच्छुक, सहयोगदाता, सल्लाहकार, पदाधिकारी, सदस्य तथा स्थानीयवासीप्रति आभार व्यक्त गरे ।

‘युवा शक्ति, समाज प्रगति’ भन्ने नारासहित स्थापित समूह २०८२ साल असोज १ गते स्थापना भएको हो। संस्थाले विराटनगर महानगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालय मोरङमा दर्ता प्रक्रिया पूरा गर्नुका साथै आन्तरिक राजस्व कार्यालयबाट स्थायी लेखा नम्बर (प्यान) समेत प्राप्त गरिसकेको जनाएको छ ।

नवगठित कार्यसमितिको अध्यक्षमा सन्तोष महत, उपाध्यक्षमा नवीन सुवेदी, सचिवमा गोविन्द श्रेष्ठ, सहसचिवमा रेनु गौतम तथा कोषाध्यक्षमा सञ्जय दत्त चयन भएका छन् । सदस्यहरूमा पप्पु भण्डारी, सुमन खतिवडा, बब्लु पौदार, प्रिया कुमारी नुन्दी, एन्जल गुप्ता र गणेश पौदार रहेका छन् ।