Breaking Nepal

काठमाडौं / चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको वैदेशिक व्यापार विस्तार भए पनि त्यसको प्रत्यक्ष लाभ निर्यात क्षेत्रमा देखिन सकेको छैन । आयातको तुलनामा निर्यातको वृद्धि कमजोर रहँदा व्यापार घाटा झनै फराकिलो बनेको छ।
भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि जेठ मसान्तसम्म मुलुकको व्यापार घाटा १५.६७ प्रतिशतले बढेर १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो घाटा १३ खर्ब ९७ अर्ब २२ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा कुल आयात १८ खर्ब ९४ अर्ब ९ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा १५.१६ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यही अवधिमा मुलुकले १६ खर्ब ४४ अर्ब ७९ करोड रुपैयाँ बराबरको वस्तु तथा सामग्री आयात गरेको थियो ।
निर्याततर्फ भने वृद्धि देखिए पनि त्यसले आयातको दबाबलाई सन्तुलन गर्न सकेको छैन । ११ महिनामा नेपालबाट दुई खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। यो अघिल्लो वर्षको तुलनामा १२.२८ प्रतिशतले बढी हो ।
वैदेशिक व्यापारको समग्र आकार भने उल्लेखनीय रूपमा बढेको छ । समीक्षा अवधिमा कुल व्यापार १४.७८ प्रतिशतले विस्तार भई २१ खर्ब ७२ अर्ब ६ करोड रुपैयाँ पुगेको विभागको तथ्यांकले देखाएको छ ।
तर व्यापार संरचनामा असन्तुलन अझ गहिरिँदै गएको संकेत देखिएको छ । आयात–निर्यात अनुपात गत वर्षको ६.६४ गुणाबाट बढेर ६.८१ गुणा पुगेको छ । अर्थात् नेपालले प्रत्येक एक रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा झन्डै सात रुपैयाँ बराबरको वस्तु आयात गरिरहेको अवस्था छ ।
कुल वैदेशिक व्यापारमा निर्यातको योगदानसमेत खुम्चिएको छ । गत वर्ष १३.०८ प्रतिशत रहेको निर्यातको हिस्सा चालु वर्षको ११ महिनामा घटेर १२.८० प्रतिशतमा सीमित भएको छ। यसले उत्पादन र निर्यात क्षमता विस्तारको गति अपेक्षाअनुसार बढ्न नसकेको संकेत गरेको छ ।
अर्थविद्हरूका अनुसार उपभोगमुखी आयातको विस्तार, औद्योगिक उत्पादनको सीमित वृद्धि तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुको प्रतिस्पर्धात्मक क्षमता कमजोर रहँदा व्यापार असन्तुलन झन् बढ्दै गएको छ । उनीहरू दीर्घकालीन समाधानका लागि निर्यातमुखी उद्योग प्रवर्द्धन, उत्पादन लागत घटाउने नीति तथा वैदेशिक बजार विस्तारमा केन्द्रित रणनीति आवश्यक रहेको बताउँछन् ।