Breaking Nepal

सुनसरी / सप्तकोशी नदीमार्फत हुने लागूऔषध ओसारपसारविरुद्ध निगरानी बढाइरहेको प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित नदी किनारबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले सोमबार बिहान विशेष निगरानीका क्रममा १६८ किलोग्राम गाँजा फेला पारेको हो। प्रहरीले नदी किनारमा ट्युबमाथि बाँसको संरचना बनाएर लुकाइ राखिएको अवस्थामा नौवटा प्लास्टिकका बोराभित्र गाँजा बरामद गरेको जनाएको छ।
प्रहरी स्रोतका अनुसार गाँजा सुरक्षित रूपमा नदीमार्फत एक स्थानबाट अर्को स्थानमा ढुवानी गर्ने उद्देश्यले तयारी अवस्थामा राखिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। बरामद गाँजालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ।
घटनासँग सम्बन्धित व्यक्ति तथा समूहको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। लागूऔषध ओसारपसारमा संलग्न हुनसक्ने सञ्जालको खोजी तीव्र पारिएको र घटनाको सबै पक्षमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।
सप्तकोशी नदी क्षेत्र पछिल्लो समय लागूऔषध तस्करीका लागि प्रयोग हुने सम्भावित मार्गका रूपमा चिनिँदै आएको छ। यही कारण नदी आसपासका क्षेत्रमा सुरक्षा निगरानी र गस्तीलाई थप प्रभावकारी बनाइएको प्रहरीको भनाइ छ।