Breaking Nepal

काठमाडौं / साताको दोस्रो कारोबार दिन सेयर बजारमा मिश्रित संकेत देखिएको छ । फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण बढे पनि समग्र बजार भने दबाबमुक्त हुन सकेन । परिणामस्वरूप नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले ओरालो लाग्दै २७ सय विन्दुमाथि कायम रह्यो ।
सोमबार नेप्से १.४६ अंकले घटेर २७००.६५ विन्दुमा रोकिएको हो। बजारमा सूचीकृत कम्पनीहरूमध्ये ११६ कम्पनीको सेयर मूल्य बढ्दा १४३ कम्पनीको मूल्य घटेको देखियो भने १४ कम्पनीको मूल्य स्थिर रह्यो ।
कारोबार रकममा पनि केही सुस्तता देखिएको छ । अघिल्लो कारोबार दिनको तुलनामा लगानीकर्ताको सक्रियता घट्दा कुल कारोबार ४ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको छ ।
बजार घटे पनि फाइनान्स समूह भने हरियो रह्यो। उक्त समूहको सूचक सबैभन्दा बढी १.०१ प्रतिशतले उकालो लाग्दा समूहभित्रका अधिकांश कम्पनीमा खरिद चाप देखिएको थियो । विशेषगरी मञ्जुश्री फाइनान्सको सेयर मूल्य ४.७२ प्रतिशतले बढेर लगानीकर्ताको ध्यान खिच्न सफल भयो ।
फाइनान्ससँगै माइक्रोफाइनान्स र व्यापार समूहमा पनि सकारात्मक माहोल देखियो। माइक्रोफाइनान्स समूह ०.४२ प्रतिशत तथा व्यापार समूह ०.९२ प्रतिशतले बढेका छन् । यता बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य समूहमा भने गिरावट देखिएको छ ।
व्यक्तिगत कम्पनीतर्फ टक्सार पिखुवाखोला हाइड्रोपावर र याम्बलिङ हाइड्रोपावरका लगानीकर्ताले उत्कृष्ट प्रतिफल पाए। यी दुवै कम्पनीको सेयर मूल्य १५ प्रतिशतले उकालो लागेको छ । त्यस्तै सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावर पनि उल्लेख्य बढ्ने कम्पनीको सूचीमा परे ।
कारोबार रकमका आधारमा सोपान फर्मास्युटिकल्स अग्रस्थानमा रह्यो । त्यसपछि एनआरएन इन्फ्रास्ट्रक्चर, स्वाबलम्बन लघुवित्त, आँखुखोला जलविद्युत् र रिलायन्स स्पिनिङ मिल्समा लगानीकर्ताको उच्च चासो देखिएको थियो ।
यद्यपि केही कम्पनीमा बिक्री दबाब पनि देखियो । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र भुजुङ हाइड्रोपावरको सेयर मूल्य करिब ३ प्रतिशतले घट्दै दिनका प्रमुख गुमाउने कम्पनी बने ।
बजार विश्लेषकहरूका अनुसार समग्र सूचकमा दबाब रहे पनि केही चयनित समूह र कम्पनीमा देखिएको खरिद चापले लगानीकर्ताको रुचि अझै सक्रिय रहेको संकेत गरेको छ ।