उद्योग वाणिज्य महासंघको व्यापार समिति सभापतिमा विराटनगरका उद्योगी नविन रिजाल मनोनित, अन्य समितिमा को–को परे ?

Breaking Nepal

सोमबार ,असार ८ , २०८३ २१:३१

विराटनगर / नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले विभिन्न परिषद्, केन्द्र तथा समितिहरूमा नयाँ नेतृत्व चयन गर्दै विराटनगरका उद्योगी तथा मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष नविन रिजाललाई व्यापार समितिको सभापतिमा मनोनित गरेको छ ।

महासंघको सोमबार बसेको दोस्रो कार्यकारिणी समितिको बैठकले अध्यक्ष अन्जन श्रेष्ठको प्रस्तावमा रिजाललाई व्यापार क्षेत्रको नेतृत्व गर्ने जिम्मेवारी प्रदान गरेको हो । निजी क्षेत्रको व्यापार प्रवर्द्धन, नीतिगत सुधार तथा उद्यमी व्यवसायीका मुद्दालाई प्रभावकारी रूपमा उठाउँदै आएका रिजालको मनोनयनलाई महासंघभित्र महत्त्वपूर्ण जिम्मेवारीका रूपमा हेरिएको छ ।

विराटनगरको औद्योगिक तथा व्यावसायिक क्षेत्रसँग लामो समयदेखि आबद्ध रिजाल मोरङ उद्योग व्यापार संघको नेतृत्व सम्हालिसकेका अनुभवी व्यवसायी हुन् । व्यापार तथा उद्योग क्षेत्रका चुनौती समाधान, लगानीमैत्री वातावरण निर्माण र निजी क्षेत्रको आवाजलाई सशक्त रूपमा अघि बढाउन उनको अनुभव उपयोगी हुने अपेक्षा महासंघले गरेको छ ।

त्यस्तै बैठकले पूर्वअध्यक्ष महेशलाल प्रधानलाई सल्लाहकार समितिको सभापति तथा पूर्वअध्यक्ष कुशकुमार जोशीलाई विज्ञता परिषद्को सभापतिमा मनोनित गरेको छ । उद्योग वाणिज्य परिषद्को सभापतिमा कृष्णप्रसाद शर्मा, वस्तुगत परिषद्को सभापतिमा नरेशलाल श्रेष्ठ तथा रोजगारदाता परिषद्को सभापतिमा प्रबलजंग पाण्डेलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै कृषि उद्यम केन्द्रको सभापतिमा शिवप्रसाद घिमिरे, कर तथा राजस्व समितिमा अरनिको राजभण्डारी, उद्योग समितिमा उज्ज्वल श्रेष्ठ तथा महिला उद्यमी विकास समितिमा सुनिता नेमाफुकी मनोनित भएका छन् ।

यसैगरी सूचना तथा सञ्चार प्रविधि विकास समितिको सभापतिमा सुनैना घिमिरे, स्थल यातायात तथा पारवहन समितिमा लिलेन्द्रप्रसाद प्रधान, पर्यटन तथा हवाई यातायात समितिमा संघर्ष बिष्ट, बैंक, वित्तीय तथा बीमा समितिमा हेमन्त गोल्छा तथा निर्यात समितिमा होमप्रसाद घिमिरेलाई जिम्मेवारी दिइएको छ ।

सहरी विकास समितिको सभापतिमा बिदुर धमला, स्वास्थ्य विज्ञान समितिमा विप्लव अधिकारी, सिप विकास तथा रोजगार समितिमा नानीराज घिमिरे, स्टार्टअप एन्ड इनोभेसन समितिमा सहारा जोशी, पुँजी बजार समितिमा प्रियराज रेग्मी, सामाजिक सेवा समितिमा राजकुमार कार्की तथा उत्पादकत्व तथा गुणस्तर समितिमा रविन पुरी मनोनित भएका छन् ।

महासंघका अध्यक्ष अन्जन श्रेष्ठले विधानको दफा ३७ बमोजिम कार्यकारिणी समिति सदस्यहरूलाई विभिन्न समितिको नेतृत्व प्रदान गरिएको जानकारी दिँदै नवगठित नेतृत्वले महासंघको छवि, प्रभावकारिता र निजी क्षेत्रको प्रतिनिधित्वलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरेका छन् ।

निजी क्षेत्रका विविध एजेन्डालाई नीतिगत तहमा प्रभावकारी रूपमा उठाउने अपेक्षासहित महासंघले गठन गरेको नयाँ नेतृत्व टोलीमा व्यापार समितिको सभापतिका रूपमा नविन रिजालको भूमिका विशेष चासोका साथ हेरिएको छ ।