Breaking Nepal

विराटनगर / मोरङको कटहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको तुलनामा करिब ३ करोड रुपैयाँले बढाइएको बजेटमा कृषि, शिक्षा र पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिइएको छ ।
गाउँपालिकाको दोस्रो गाउँसभाको नवौँ अधिवेशनमा उपाध्यक्ष सीतादेवी राजवंशीले नीति तथा कार्यक्रमसँगै बजेट प्रस्तुत गर्दै संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा आन्तरिक आम्दानीलाई बजेटको मुख्य स्रोतका रूपमा उल्लेख गरिन् ।
बजेट स्रोतअनुसार संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १२ करोड ४९ लाख ९० हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट १० करोड २० लाख ६१ हजार रुपैयाँ, रोयल्टी १५ लाख रुपैयाँ, सशर्त अनुदान १६ करोड ६५ लाख रुपैयाँ, समपूरक अनुदान ६५ लाख रुपैयाँ तथा विशेष अनुदान ९५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
त्यसैगरी प्रदेश सरकारबाट सवारी साधन करअन्तर्गत राजस्व बाँडफाँट ८८ लाख ७३ हजार ५१२ रुपैयाँ, वित्तीय समानीकरण अनुदान १ करोड १६ लाख ९८ हजार रुपैयाँ, सशर्त अनुदान २ करोड ४५ लाख ९० हजार रुपैयाँ तथा समपूरक अनुदान ७४ लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ ।
कटहरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा ५८ करोड ९१ लाख ४४ हजार ५ सय रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । आगामी वर्षका लागि बजेटको आकार बढेसँगै विकास निर्माण र सेवा प्रवाहका कार्यक्रमलाई थप प्रभावकारी बनाउने लक्ष्य लिइएको छ ।
गाउँपालिका अध्यक्ष देवराज चौधरीले बजेटले नागरिकको प्रत्यक्ष आवश्यकता सम्बोधन गर्ने गरी प्राथमिकता निर्धारण गरिएको बताए। कृषि उत्पादन वृद्धि, शैक्षिक गुणस्तर सुधार र आधारभूत पूर्वाधार विस्तारमार्फत स्थानीय आर्थिक गतिविधि चलायमान बनाउने लक्ष्य बजेटले समेटेको उनको भनाइ छ ।
गाउँसभा अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी कोशी प्रदेशका वन, पर्यटन तथा वातावरण मन्त्री भीम पराजुलीले कटहरीले पूर्वाधार विकासमा हासिल गरेको प्रगतिलाई सकारात्मक उदाहरणका रूपमा उल्लेख गर्दै योजनाबद्ध र दिगो विकासमा केन्द्रित हुन सुझाव दिए ।
स्थानीय तहको विकास खर्च विस्तार गर्ने लक्ष्यसहित ल्याइएको बजेटले आगामी वर्ष कटहरीमा कृषि आधुनिकीकरण, शैक्षिक सुधार तथा पूर्वाधार निर्माणका कार्यक्रमलाई थप गति दिने अपेक्षा गरिएको छ ।