Breaking Nepal

काठमाडौं– सरकारले जलनका बिरामीलाई सहज, छिटो र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने लक्ष्यसहित देशभरका अस्पतालमा जलन उपचार सेवा विस्तार गरेको छ।
सरकारको १०० दिने कार्ययोजनाअन्तर्गत हाल १४ संघीय र ४ प्रादेशिक अस्पतालमा जलन उपचारका लागि विशेष युनिट तथा वार्ड सञ्चालनमा ल्याइएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार जलन उपचार सेवाको गुणस्तर सुधारका लागि १०९ जना स्वास्थ्यकर्मीलाई आधारभूत तथा २१७ जनालाई विशेष जलन उपचारसम्बन्धी तालिम प्रदान गरिएको छ। यसबाट सर्वसाधारणले आफ्नै क्षेत्र नजिकका अस्पतालबाट प्रारम्भिक तथा आवश्यक जलन उपचार सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार जलनका बिरामीलाई प्लास्टिक सर्जरीलगायत अन्य जटिल उपचारको समेत आवश्यकता पर्ने भएकाले छुट्टै अस्पताल स्थापना गर्नुभन्दा सुविधा सम्पन्न अस्पतालभित्रै विशेष युनिट सञ्चालन गर्नु प्रभावकारी देखिएको हो।
हाल कान्ति बाल अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, कोशी अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल, डडेलधुरा अस्पताल, भेरी अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान–वीर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत अस्पतालमा जलन उपचारका लागि छुट्टै वार्ड स्थापना गरी सेवा सञ्चालन भइरहेको छ।