विराटनगरमा बिग्रिएको मिठाइ बिक्री गरेको आरोप, जीवन विकास डेरीमाथि अनुगमन र कारबाहीको माग

Breaking Nepal

pen
दिपेन्द्र साह
मंगलबार ,असार ९ , २०८३ १५:५३

विराटनगर / विराटनगरस्थित जीवन विकास डेरी प्रालिमाथि बिग्रिएको तथा ढुसी लागेको मिठाइ बिक्री गरेको आरोप लागेको छ । उपभोक्ताले खरिद गरेको मिठाइ सेवनयोग्य नभएको अवस्थामा फेला परेपछि सम्बन्धित निकायबाट तत्काल अनुगमन तथा कारबाहीको माग गरिएको हो ।

विराटनगर ट्राफिक चोकस्थित डेरीबाट मिठाइ खरिद गरेका उपभोक्ता ओमप्रकाश शर्माले असार ३ गते साँझ पाहुनाका लागि किनिएको मिठाइ बिग्रिएको अवस्थामा भेटिएको बताएका छन् । उनका अनुसार डेरीको उत्पादन गुणस्तरीय हुने विश्वासका साथ मिठाइ खरिद गरिएको भए पनि पाहुनालाई खुवाउने क्रममा मिठाइमा ढुसी लागेको र गुणस्तरहीन रहेको पाइयो ।

“विश्वास गरेर मिठाइ किनिएको थियो, तर प्रयोग गर्ने बेला बिग्रिएको भेटियो,” शर्माले भने, “यसले उपभोक्ताको स्वास्थ्यमा जोखिम त बढाउँछ नै, सामाजिक रूपमा पनि अप्ठ्यारो स्थिति सिर्जना गर्छ। त्यसैले सम्बन्धित निकायले यस्ता विषयमा गम्भीरतापूर्वक छानबिन गर्नुपर्छ ।”

घटनाबारे प्रतिक्रिया दिँदै जीवन विकास डेरी प्रालिका प्रमुख विजयकुमार मण्डलले मिठाइ बिग्रिएको घटना मानवीय त्रुटिका कारण भएको स्वीकार गरेका छन् । उनले यस्ता कमजोरी दोहोरिन नदिन सम्बन्धित कर्मचारीलाई सचेत गराइएको र गुणस्तर नियन्त्रणमा थप कडाइ गरिने बताए ।

“यो हाम्रो तर्फबाट भएको त्रुटि हो। यस्तो अवस्था आउनु हुँदैन थियो,” मण्डलले भने, “खाद्य सुरक्षासँग सम्बन्धित विषय भएकाले आवश्यक सुधारात्मक कदम चालिसकेका छौं ।”
स्वास्थ्य विज्ञहरूका अनुसार ढुसी लागेको, म्याद नाघेको वा बिग्रिएको खाद्यवस्तु सेवन गर्दा फुड पोइजनिङ, झाडापखाला, बान्ता, पेटसम्बन्धी संक्रमण तथा एलर्जीजस्ता समस्या देखिन सक्छन् । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिमा यसको जोखिम बढी रहने बताइन्छ ।

बजारमा गुणस्तरहीन खाद्यवस्तुको बिक्रीबारे उपभोक्ताको गुनासो बढिरहेका बेला नियमित बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने माग पनि उठ्न थालेको छ । खाद्य स्वच्छता तथा उपभोक्ता संरक्षणसम्बन्धी प्रचलित कानुनअनुसार उपभोगका लागि अनुपयुक्त खाद्यवस्तु बिक्री गरेको पुष्टि भएमा सम्बन्धित व्यवसायीमाथि जरिवाना, क्षतिपूर्ति तथा अन्य कानुनी कारबाहीको व्यवस्था रहेको छ ।

उपभोक्ता शर्माले खाद्यवस्तुको गुणस्तरमा हुने लापरबाहीलाई गम्भीर विषयका रूपमा लिनुपर्ने उल्लेख गर्दै बजारमा बिक्री भइरहेका खाद्य सामग्रीको नियमित परीक्षण र निगरानी बढाउन आग्रह गरेका छन् ।