Breaking Nepal

संखुवासभा / अविरल वर्षासँगै आएको पहिरोका कारण उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडकखण्डका विभिन्न स्थानमा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ । लगातारको वर्षाले भोटखोला गाउँपालिका क्षेत्रमा दर्जनौं स्थानमा पहिरो खसेपछि सडक सञ्जाल प्रभावित बनेको हो ।
उत्तर–दक्षिण कोशी सडक आयोजना कार्यालयका प्रमुख इन्जिनियर राम गुरुङका अनुसार शनिबार रातिदेखि परेको वर्षापछि भोटखोला गाउँपालिका–३ को सिरेकदेखि गाउँपालिका केन्द्र हटियासम्मको सडकखण्डमा व्यापक क्षति पुगेको छ। सिरेक–हटिया सडकखण्डको ८८ किलोमिटरदेखि १०३ किलोमिटरसम्मका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको उनले जानकारी दिए ।
करिब १५ किलोमिटर सडकखण्डभरि विभिन्न ठाउँमा पहिरो खसेकाले यातायात सञ्चालन पूर्ण रूपमा बन्द भएको छ। सडक खुलाउन डोजर परिचालन गरी पहिरो पन्छाउने काम सुरु गरिए पनि लगातारको वर्षा र ठूलो परिमाणमा खसेका पहिरोका कारण काम प्रभावित भइरहेको सडक कार्यालयले जनाएको छ ।
यसैबीच, भोटखोला गाउँपालिका–३ स्थित थोराङ खोलामा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएको छ । खोलामा राखिएका चारवटा डाइभर्सन संरचना बाढीले क्षति पुर्याएपछि सडक मर्मत तथा यातायात सञ्चालन थप चुनौतीपूर्ण बनेको छ ।
उता, खाँदबारी–किमाथाङ्का सडकखण्डअन्तर्गत मकालु गाउँपालिका–३ अल्फाटे क्षेत्रमा खसेको पहिरो हटाइएपछि सडक एकतर्फी सञ्चालनमा आएको छ । यद्यपि माथिल्लो क्षेत्रमा अझै निरन्तर वर्षा भइरहेकाले पूर्ण रूपमा यातायात सुचारु गर्न नसकिएको सडक आयोजनाले जनाएको छ ।
लगातारको वर्षासँगै थप पहिरो खस्ने जोखिम उच्च रहेकाले तत्काल सडक सञ्चालनमा ल्याउन कठिनाइ भइरहेको जनाइएको छ । सडक अवरुद्ध भएपछि किमाथाङ्का, हटिया तथा उत्तरी भेगका बासिन्दा र यात्रुहरू प्रत्यक्ष प्रभावित बनेका छन् ।
मनसुन सक्रिय भएसँगै कोशी करिडोर क्षेत्रमा सडक पूर्वाधारमाथिको जोखिम बढ्दै गएको छ । सम्बन्धित निकायले यात्रुलाई अत्यावश्यक बाहेक यात्रा नगर्न र मौसम तथा सडक अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरेका छन् ।