शक्तिखोर औद्योगिक क्षेत्र निर्माण अघि बढाइने, लगानी र रोजगारी विस्तारमा सरकारको जोड

Breaking Nepal

मंगलबार ,असार ९ , २०८३ १७:२६

भरतपुर – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव ले चितवनको बहुप्रतीक्षित शक्तिखोर औद्योगिक क्षेत्र निर्माण प्रक्रिया छिट्टै अगाडि बढाइने बताएकी छन्।
चितवन उद्योग सङ्घले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री यादवले औद्योगिक क्षेत्र सञ्चालनका लागि आवश्यक पहल भइरहेको र निर्माण कार्यलाई शीघ्र अघि बढाउने तयारी भइरहेको जानकारी दिइन्। उनले उद्योग तथा व्यवसाय क्षेत्रलाई प्रोत्साहन गर्दै लगानी विस्तार र रोजगारी सिर्जनामा सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन्।
उनले नियमविपरीत सञ्चालन भएका उद्योगहरूको विद्युत् आपूर्ति बन्द गरिएको तथा कानुनी प्रक्रिया पूरा गरी सञ्चालनमा रहेका उद्योगलाई विभिन्न सहुलियत र सहयोग प्रदान गरिएको बताइन्।
कार्यक्रममा चितवन उद्योग सङ्घका उपाध्यक्ष गोपालप्रसाद गैरे ले सङ्घका विभिन्न परियोजनाबारे जानकारी गराउँदै शक्तिखोर औद्योगिक क्षेत्र शीघ्र सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराए। त्यसैगरी व्यवसायी अर्जुन सापकोटा ले स्वदेशी उद्योगका लागि आवश्यक कच्चा पदार्थमा कर छुटको व्यवस्था गर्न सरकारसँग माग गरे।
शक्तिखोर औद्योगिक क्षेत्र निर्माणका लागि कालिका नगरपालिका का वडा नम्बर ३, ७ र ८ तथा इच्छाकामना गाउँपालिका वडा नम्बर ७ को गरी एक हजार १७८ हेक्टर क्षेत्रफल छुट्याइएको छ। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार उक्त औद्योगिक क्षेत्र निर्माणका लागि करिब ३७ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।