एमालेलाई जनविश्वासको केन्द्र बनाउने लक्ष्य : शंकर पोखरेल

Breaking Nepal

मंगलबार ,असार ९ , २०८३ १७:४३

सुर्खेत / नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले विगतका विभिन्न कठिन परिस्थितिहरूको सामना गर्दै पुनः मजबुत रूपमा उठ्न सफल भएको बताएका छन् ।

उनले आगामी दिनमा पनि नेकपा एमालेलाई जनविश्वासको केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य रहेको उल्लेख गरे ।

एमाले कर्णाली प्रदेश कमिटीले सोमबार सुर्खेतमा आयोजना गरेको एकदिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले संकटका समयमा पार्टीलाई जनताले नै संरक्षण गर्ने भएकाले जनताको भावना, आवश्यकता र अपेक्षालाई गम्भीर रूपमा बुझ्नुपर्नेमा जोड दिए ।

उनका अनुसार पार्टीले निर्माण गरेका नीति तथा कार्यक्रमहरू जनतासम्म प्रभावकारी रूपमा नपुगेकाले कतिपय अवस्थामा गलत बुझाइ उत्पन्न भएको छ ।

‘निराशालाई आशामा बदल्नु आजको आवश्यकता हो,’ उनले भने, ‘जनताको विश्वास जित्न पार्टीले आफ्ना विचार, नीति र कार्यक्रमलाई अझ प्रभावकारी ढंगले प्रस्तुत गर्नुपर्छ ।’

पोखरेलले युवाहरूलाई पार्टीसँग जोड्न नसक्नु एमाले कमजोर देखिनुको एक प्रमुख कारण भएको उल्लेख गर्दै युवा सहभागिता र नेतृत्व विकासलाई प्राथमिकतामा राखेर संगठनलाई सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए ।

उनले कठिन परिस्थितिलाई अवसर र शक्तिमा रूपान्तरण गर्न सक्ने क्षमता एमालेसँग रहेको भन्दै पार्टीलाई जनताको विश्वासयोग्य शक्तिका रूपमा अघि बढाउनुपर्ने बताए ।