Breaking Nepal

विराटनगर / कोशी प्रदेशमा गठनको तयारीमा रहेको प्रदेश प्रज्ञा–प्रतिष्ठानको नेतृत्व राजनीतिक व्यक्तिले गर्न नहुने भन्दै साहित्यिक तथा प्राज्ञिक वृत्तबाट विरोध सुरु भएको छ । लेखक तथा अनुसन्धाता केशु विरहीले भाषा, साहित्य र कलाको विकासका लागि स्थापना गरिने प्रतिष्ठानमा राजनीतिक नेतृत्व थोपर्न खोजिए स्रष्टा समुदायले स्वीकार नगर्ने चेतावनी दिएका छन् ।
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केही दिनअघि विराटनगरमा आयोजित सार्वजनिक कार्यक्रममा प्रदेश प्रज्ञा–प्रतिष्ठान गठनको तयारी अन्तिम चरणमा पुगेको र आवश्यक बजेट तथा कार्यालय व्यवस्थापन भइसकेको बताएका थिए । त्यसलगत्तै विरहीले सामाजिक सञ्जालमार्फत प्रदेश सरकारको तयारीप्रति असन्तुष्टि जनाएका हुन् ।
कोशी साहित्य–कला परिषद् नेपालका अध्यक्षसमेत रहेका विरहीले प्रदेश प्रज्ञा–प्रतिष्ठानको नेतृत्व भाषा, साहित्य र कलाक्षेत्रकै व्यक्तिले गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । उनले स्रष्टा समुदायको भावनाविपरीत राजनीतिक पदाधिकारीलाई कुलपति तथा सहकुलपति बनाइने अभ्यास स्वीकार्य नहुने उल्लेख गरेका छन् ।
“हामीलाई राजनीतिक नेतृत्वको छायाँमा चल्ने प्रतिष्ठान होइन, स्रष्टा र कलाकर्मीको नेतृत्वमा सञ्चालन हुने स्वायत्त संस्था चाहिएको हो,” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
प्रदेश प्रज्ञा–प्रतिष्ठान ऐन, २०७९ को व्यवस्थाप्रति पनि साहित्यिक क्षेत्रले असन्तुष्टि जनाउँदै आएको छ । विरहीको अभिव्यक्तिपछि विभिन्न साहित्यिक तथा प्राज्ञिक व्यक्तित्वले समेत ऐनको वर्तमान संरचनामाथि प्रश्न उठाएका छन् ।
मेची बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. गोपीकृष्ण खतिवडाले प्रज्ञा–प्रतिष्ठानको नेतृत्व वाङ्मय क्षेत्रबाहिरका व्यक्तिलाई दिन नहुने धारणा व्यक्त गरेका छन् । साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराईले राजनीतिक प्रभावमा गरिने नियुक्तिलाई ‘टिके प्रथा’ को निरन्तरताका रूपमा टिप्पणी गर्दै स्वतन्त्र र स्वाभिमानी स्रष्टाले त्यस्तो संरचनामा सहभागी नहुनुपर्ने बताएका छन् ।
त्यस्तै, नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्रा. डा. भीम खतिवडाले स्रष्टाहरूले पटक–पटक विमति जनाउँदै आएको ऐनको आधारमा प्रतिष्ठान गठन गर्न खोजिनु उपयुक्त नभएको बताए । उनले प्रदेश सरकारले साहित्यिक समुदायको आवाज किन बेवास्ता गरिरहेको छ भन्ने प्रश्नसमेत उठाएका छन् ।
एक दर्जनभन्दा बढी कृति प्रकाशित गरिसकेका विरही पछिल्लो समय अनुसन्धान क्षेत्रमा सक्रिय छन्। उनका ‘बेलबारीको साहित्यिक इतिहास’, ‘तेह्रथुमको साहित्यिक इतिहास’, ‘उपद्रष्टा हर्कमान तामाङ’ र ‘जीवनकथा अग्रजका’ लगायतका अनुसन्धानमूलक कृति प्रकाशित छ न्।
साहित्यिक वृत्तमा प्रदेश प्रज्ञा–प्रतिष्ठानको नेतृत्व र संरचनाबारे बहस तीव्र बन्दै गएको बेला सरकार भने गठन प्रक्रियालाई अघि बढाउने तयारीमा देखिएको छ । स्रष्टा समुदायले आफ्ना सुझाव र असहमतिलाई बेवास्ता गर्दै नियुक्ति गरिए प्रतिष्ठानको नेतृत्वप्रति नै असहयोग र बहिष्कारको नीति अपनाउन सक्ने संकेत दिएका छन् ।