Breaking Nepal

विराटनगर / सुनसरीको बर्जु गाउँपालिकामा मंगलबार भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) लालकुमार यादवको मृत्यु भएको छ । दुर्घटनामा उनकी पत्नी घाइते भएकी छन् भने कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरी प्रहरीका अनुसार हुलाकी राजमार्गअन्तर्गत बर्जु गाउँपालिका–६ नरह चोक नजिक विराटनगरबाट चिमडीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ६२५२ नम्बरको विद्युतीय कारले विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको विष्णुपुर गाउँपालिका–१ निवासी ५० वर्षीय वरिष्ठ सई यादव गम्भीर घाइते भएका थिए । टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेका उनलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक यादव जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत थिए । दुर्घटनामा उनकी ४७ वर्षीया पत्नी रामपरी यादव घाइते भएकी छन् । उनको दाहिने खुट्टामा चोट लागेको छ र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । उनको उपचार विराट नर्सिङ होममै भइरहेको छ ।
प्रहरीले दुर्घटनामा संलग्न कार चालक मोरङको कटहरी गाउँपालिका–३ निवासी ५० वर्षीय रेडियोलोजिस्ट डा. राजेन्द्र चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । प्रारम्भिक अनुसन्धानअनुसार डा. चौधरी चिमडी बजारतर्फ एक्स–रे सेवा सम्बन्धी कामका लागि जाँदै गर्दा दुर्घटना भएको खुलेको छ ।
प्रहरीले घटनाको कारण र जिम्मेवारी निर्धारणका लागि थप अनुसन्धान जारी राखेको जनाएको छ ।