उपचारभन्दा अघि रोकथाममा जोड, झापामा आधुनिक बाल स्वास्थ्य केन्द्र सञ्चालन

Breaking Nepal

बिहीबार ,असार ११ , २०८३ ०७:३५

झापा / बाल स्वास्थ्य उपचारलाई केवल बिरामी भएपछि अस्पताल पुग्ने अभ्यासबाट बाहिर ल्याउन लक्ष्यसहित झापाको बिर्तामोडमा ‘डा. रबिन्स पेडियाट्रिक क्लिनिक’ सञ्चालनमा आएको छ। क्लिनिकले उपचारसँगै रोकथाम, पोषण व्यवस्थापन, वृद्धि–विकासको निगरानी तथा अभिभावक स्वास्थ्य शिक्षालाई केन्द्रमा राखेर सेवा विस्तार गर्ने योजना सार्वजनिक गरेको छ।

बाल रोग विशेषज्ञ डा. रवीन रेग्मीको नेतृत्वमा सञ्चालनमा आएको क्लिनिकले बालबालिकाको दीर्घकालीन स्वास्थ्य व्यवस्थापनलाई प्राथमिकता दिएको जनाएको छ। क्लिनिकका अनुसार रोग देखिएपछि उपचार गर्ने परम्परागत अभ्यासभन्दा जोखिम पहिचान, नियमित अनुगमन र समयमै हस्तक्षेपमार्फत स्वास्थ्य समस्या न्यूनीकरण गर्ने रणनीति अपनाइनेछ।

क्लिनिकले बालबालिकाको शारीरिक, मानसिक तथा व्यवहारिक विकासको नियमित मूल्याङ्कन गर्ने व्यवस्था गरेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को वृद्धि मापदण्डअनुसार तौल, उचाइ तथा विकासगत सूचकहरूको अभिलेखीकरण गरिनेछ, जसबाट कुपोषण, वृद्धि अवरोध तथा अन्य सम्भावित स्वास्थ्य समस्याको प्रारम्भिक चरणमै पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नवजात शिशु तथा मातृ स्वास्थ्यलाई लक्षित गर्दै स्तनपान परामर्श सेवा पनि सुरु गर्ने तयारी गरिएको छ। यसअन्तर्गत स्तनपानको सही अभ्यास, शिशुको प्रारम्भिक पोषण तथा आमालाई आवश्यक स्वास्थ्य परामर्श उपलब्ध गराइने क्लिनिकले जनाएको छ।

क्लिनिकका अनुसार बाल स्वास्थ्य क्षेत्रमा अभिभावकको बढ्दो सचेतना र गुणस्तरीय सेवाप्रतिको मागलाई ध्यानमा राख्दै ‘प्रिभेन्टिभ हेल्थकेयर’ मोडलमा आधारित सेवा संरचना विकास गरिएको हो। नियमित स्वास्थ्य परीक्षण, खोप व्यवस्थापन, पोषण परामर्श तथा वृद्धि–विकास निगरानीलाई मुख्य सेवाका रूपमा अघि सारिएको छ।

बाल स्वास्थ्य क्षेत्रमा विशेषज्ञ सेवाको विस्तारलाई दीर्घकालीन लक्ष्य बनाएको क्लिनिकले आगामी दिनमा सुपरस्पेसियालिटी सेवा, आधुनिक निदान सुविधा, अनुसन्धान तथा तालिम कार्यक्रम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरेको छ।

स्वास्थ्य क्षेत्रमा रोकथाममुखी सेवाको आवश्यकता बढिरहेका बेला बिर्तामोडमा सुरु भएको यो पहलले बाल स्वास्थ्य सेवामा नयाँ अभ्यास स्थापित गर्नुका साथै गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवाको विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।