‘सुरक्षित यात्रा’ कविता प्रतियोगितामा इटहरीकी दिलसा प्रथम, हात पारिन् २० हजार नगदसहित शिल्ड

Breaking Nepal

बिहीबार ,असार ११ , २०८३ १४:३२

विराटनगर / सुरक्षित सडक संस्कार र दुर्घटना न्यूनीकरणबारे विद्यार्थीस्तरमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कोशी प्रदेशस्तरीय अन्तरविद्यालय कविता प्रतियोगितामा इटहरीकी दिलसा न्यौपाने प्रथम भएकी छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोगमा धनकुटा बहुमुखी क्याम्पसले आयोजना गरेको प्रदेशस्तरीय अन्तरविद्यालय कविता प्रतियोगितामा इटहरीस्थित विश्व आदर्श माविकी छात्रा दिलसा न्यौपाने प्रथम भएकी छन् ।

‘सुरक्षित यात्रा’ शीर्षकमा आयोजित प्रतियोगितामा ६० जना प्रतिस्पर्धीलाई पछि पार्दै दिलसाले प्रथम पुरस्कार जितेकी हुन् ।
पत्रकार तथा लेखक यज्ञ शर्मा, कवि एवं पत्रकार मीनकुमार नवोदित र उपप्राध्यापक ईश्वर चौहान निर्णायक रहेको प्रतियोगितामा विराटनगरस्थित मोर्डन एरा स्कुलकी छात्रा दीपा थापा मगर द्वितीय हुन सफल भएकी छन् ।

त्यस्तै इटहरीको गोकियो स्कुलका उत्सव भट्टराई तृतीय हुँदा विराटनगरस्थित एभरेष्ट सेकेण्डरी स्कुलकी सौमिका ढकाल, एभरेष्टकै यशोदा पौडल र सिटी कलेजकी कृतिका द्विवेदीले सान्त्वना स्थान हासिल गरे ।

प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीलाई क्रमशः २०, १५, १० र ५ हजार नगद पुरस्कारसहित मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रतिनिधि द्रोणप्रसाद धमला, शक्तिराज रेग्मी, निर्णायकहरु यज्ञप्रसाद शर्मा, मीनकुमार नवोदित, ईश्वर चौहान, आयोजक धनकुटा बहुमुखी क्याम्पसका प्रमुख होमबहादुर बस्नेतलगायतले पुरस्कार वितरण गरेका थिए । पुरस्कारभित्र नपरेका अन्य ७ जना विद्यार्थीलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

ट्राफिक नियम, सुरक्षित यात्रा, दुर्घटनाबाट जोगिने उपायलगायतका विषयमा जनचेतना जागृत गराउने उद्देश्यले कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा कविता प्रतियोगिता आयोजना गरिएको धनकुटा बहुमुखी क्याम्पसका प्रमुख होमबहादुर बस्नेतले जानकारी दिए ।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ६० जनाले प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणबाट छानिएका १३ जनाबीच अन्तिम प्रतिस्पर्धा गराइएको आयोजक समितिका सदस्य डा. धर्मराज ढकालले जानकारी दिए ।

आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले बुधबार एक समारोहका बीच प्रतियोगिताको उद्घाटन गरेका थिए ।