साढे पाँच वर्षदेखि अधुरो काँकरभिट्टा भ्यू टावर : ६५ लाख खर्चिएर पनि जमिनमाथि उठेन संरचना

Breaking Nepal

बिहीबार ,असार ११ , २०८३ १४:४२

झापा / झापाको काँकरभिट्टामा पर्यटन प्रवर्द्धनको महत्वाकांक्षी योजनाका रूपमा अघि सारिएको ११ तले भ्यू टावर निर्माण सुरु भएको साढे पाँच वर्ष बितिसक्दा पनि अलपत्र अवस्थामा पुगेको छ। प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा निर्माण थालिएको परियोजना बजेट अभाव, कमजोर योजना तथा व्यवस्थापकीय असक्षमताका कारण अधुरै रहँदा करोडौं रुपैयाँको सार्वजनिक लगानी जोखिममा परेको छ।

मेचीनगर नगरपालिका–६ स्थित श्री नेपाल विश्वनाथ शिवालय मन्दिर परिसरमा निर्माण गर्न लागिएको ३३ मिटर अग्लो भ्यू टावरको शिलान्यास २०७७ माघ १ गते गरिएको थियो। तत्कालीन प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यमा सुरु गरिएको आयोजनाले काँकरभिट्टालाई पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएको थियो।

परियोजनाबाट तराईका मनोरम फाँट, इलामका हरिया पहाड तथा भारतको दार्जिलिङ, सिलिगुडी र सिक्किमसम्मको दृश्यावलोकन गर्न सकिने दाबी गरिएको थियो। नेपाल प्रवेश गर्ने आन्तरिक तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य बनाउने उद्देश्यसहित योजना अघि बढाइएको भए पनि निर्माण कार्य सुरुदेखि नै अवरुद्ध बनेको छ।

कोशी प्रदेश सरकारको ७० प्रतिशत र मेचीनगर नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा निर्माण सुरु गरिएको आयोजनाका लागि नगरपालिकाले निर्माण कम्पनीलाई २० प्रतिशत प्रगति देखाएर ६५ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ। तर, त्यसपछि प्रदेश सरकारबाट बहुवर्षीय योजनाअनुसार बजेट सुनिश्चित नभएपछि निर्माण कार्य ठप्प बनेको हो।

निर्माण रोकिएसँगै फाउन्डेसन र संरचनामा प्रयोग भएका रडहरूमा खिया लाग्न थालेको छ। लामो समयसम्म संरक्षण नहुँदा संरचनाको गुणस्तरसमेत कमजोर बन्दै गएको स्थानीयवासीको गुनासो छ।

आयोजनाको सम्झौता २०७७ पुस २९ गते भएको थियो। सम्झौताअनुसार २०७७ माघ ५ गतेदेखि निर्माण सुरु गरी २०७८ पुस २८ गतेभित्र सम्पन्न गर्नुपर्ने उल्लेख भए पनि निर्धारित समय गुज्रिएको साढे चार वर्ष भइसक्दा परियोजनाले पूर्ण स्वरूप लिन सकेको छैन।

मूल्य अभिवृद्धि करबाहेक ४ करोड ५३ लाख ४७ हजार रुपैयाँ लागत अनुमान गरिएको परियोजना निर्माणका लागि श्री कन्काई इन्टरनेसनल बिल्डर्स प्रालिसँग ३ करोड २९ लाख ९३ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो।

हालै प्रतिनिधिसभा सदस्य निशा डाँगीले स्थलगत निरीक्षण गर्दै परियोजनाको औचित्य, डिजाइन तथा कार्यान्वयन प्रक्रियामाथि प्रश्न उठाएकी छन्। उनले डीपीआर निर्माणदेखि कार्यान्वयनसम्म भएका त्रुटिको छानबिन गरी जिम्मेवार पक्षलाई जवाफदेही बनाउनुपर्ने धारणा व्यक्त गरिन्।

स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणले समेत परियोजनाको प्राविधिक पक्ष र स्थान छनोटमै कमजोरी रहेको बताएका छन्। पूर्व गाविस अध्यक्ष डिल्लीराम घिमिरेले भ्यू टावरका लागि चयन गरिएको स्थान उपयुक्त नभएको र फाउन्डेसन निर्माणमै त्रुटि भएको दाबी गरेका छन्। उनका अनुसार खर्च र निकासाबीच समेत ठूलो अन्तर देखिएको छ।

यता, मन्दिर परिसरमा निर्माणाधीन संरचनाले धार्मिक क्षेत्रका अन्य पूर्वाधारसमेत प्रभावित बनाएको छ। श्री नेपाल विश्वनाथ शिवालय मन्दिरका पुजारी विष्णुप्रसाद तिम्सिनाले निर्माण कार्य रोकिँदा मन्दिरका केही संरचना क्षतिग्रस्त भएको र परियोजनालाई तत्काल टुंग्याउनुपर्ने आवश्यकता औंल्याए।

मेचीनगर नगरपालिकाले यसलाई नगरको गौरवको आयोजनाका रूपमा सूचीकृत गरे पनि अपेक्षित प्रगति हुन नसक्दा परियोजना अहिले सरकारी योजना कार्यान्वयनको कमजोर नमुनाका रूपमा देखिन थालेको छ। पर्यटन प्रवर्द्धन, स्थानीय आर्थिक गतिविधि विस्तार तथा सीमावर्ती क्षेत्रमा नयाँ आकर्षण सिर्जना गर्ने उद्देश्य बोकेको योजना लामो समयसम्म अलपत्र रहँदा सार्वजनिक स्रोत–साधनको प्रभावकारी उपयोगमाथि समेत प्रश्न उठेको छ।

नेपालका विभिन्न स्थानमा निर्माण गरिएका भ्यू टावरहरू सञ्चालन तथा व्यवस्थापनको अभावमा समस्यामा परिरहेका बेला काँकरभिट्टा भ्यू टावर पनि त्यही नियतिको सिकार बनेको छ। सम्बन्धित निकायले समयमै स्पष्ट निर्णय नगरे परियोजनामा लगानी गरिएको रकम पूर्ण रूपमा जोखिममा पर्ने देखिएको छ।