केन्द्रीय सदस्य निर्वाचनपछि रास्वपा पदाधिकारी चयनतर्फ, ४ बजेदेखि मतदान

Breaking Nepal

बिहीबार ,असार ११ , २०८३ १४:५९

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयन प्रक्रिया सम्पन्न भएसँगै पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचनको तयारी तीव्र पारिएको छ।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार निर्वाचन आयोगले दोस्रो चरणको मतदान अपराह्न ४ बजेदेखि सुरु गर्ने लक्ष्यसहित आवश्यक व्यवस्थापन गरिरहेको छ। यस चरणमा दुई उपसभापति, एक महामन्त्री तथा तीन सहमहामन्त्री पदका लागि प्रतिस्पर्धा हुने जनाइएको छ।

रास्वपाको १९ सदस्यीय पदाधिकारी संरचनाअनुसार तीन उपसभापतिमध्ये एक, दुई महामन्त्रीमध्ये एक तथा पाँच सहमहामन्त्रीमध्ये दुई पदाधिकारी सभापतिबाट मनोनीत हुने व्यवस्था पार्टी विधानमा उल्लेख छ। बाँकी पदका लागि प्रतिनिधिहरूको प्रत्यक्ष मतदानबाट नेतृत्व चयन गरिनेछ।

यसअघि सभापतिमा रवि लामिछाने तथा वरिष्ठ नेतामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह सर्वसम्मत चयन भइसकेका छन्। सर्वसम्मत नेतृत्व चयनपछि पार्टीभित्र पदाधिकारी संरचना पूर्णता दिने प्रक्रियाले गति लिएको हो।

पहिलो चरणमा ९९ सदस्यीय केन्द्रीय समितिका लागि भएको निर्वाचनमा कुल २ हजार ९५९ मत खसेको थियो। महाधिवेशनमा सहभागी ४ हजार ३११ प्रतिनिधिमध्ये १ हजार ३५२ जना मतदान प्रक्रियामा अनुपस्थित रहेको निर्वाचन तथ्यांकले देखाएको छ।

पदाधिकारी निर्वाचनको नतिजाले आगामी कार्यकालका लागि रास्वपाको शक्ति सन्तुलन र नेतृत्व संरचनाको स्पष्ट तस्वीर दिने अपेक्षा गरिएको छ।