लगातार चौथो दिन नेप्से ओरालो, एक महिनामै १३५ अंक घट्यो

Breaking Nepal

बिहीबार ,असार ११ , २०८३ १६:२८

काठमाडौं / सेयर बजारमा गिरावटको क्रम रोकिएको छैन । साताको अन्तिम कारोबार दिन बिहीबार पनि बजार निरन्तर चौथो दिन घट्दै फागुनयताकै न्यून विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ८.५० अंकले घटेर २ हजार ६ सय ५१.३८ अंकमा कायम भएको छ । यो स्तर फागुन १३ यताकै न्यून हो। पछिल्लो एक महिनाको अवधिमा मात्रै नेप्से १३५ अंकले घटेको छ। जेठ ११ गते २ हजार ७ सय ८६ अंकमा रहेको बजार अहिले उल्लेख्य रूपमा कमजोर बनेको देखिएको छ ।

बिहीबार कारोबार अवधिभर बजारमा सुधारको संकेत देखिए पनि त्यसले निरन्तरता पाउन सकेन । साढे १२ बजेपछि बजार उकालो लाग्ने प्रयासमा देखिए पनि पौने २ बजेपछि पुनः बिक्री दबाब बढ्दा सूचक ओरालो लागेको हो ।

कारोबार रकमसमेत खुम्चिएको छ। अघिल्लो दिन ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा बिहीबार कारोबार रकम घटेर २ अर्ब ८३ करोड रुपैयाँमा सीमित भएको छ। यो रकम जेठ ४ यताकै न्यून दैनिक कारोबार हो ।

बजारमा सूचीकृत २७४ कम्पनीमध्ये ८३ कम्पनीको सेयर मूल्य बढ्दा १७२ कम्पनीको मूल्य घटेको छ भने १९ कम्पनी स्थिर रहे । क्षेत्रगत रूपमा उत्पादन तथा प्रशोधन समूहबाहेक सबै उपसूचक राताम्मे देखिएका छन् ।

उत्पादन तथा प्रशोधन समूह ०.१४ प्रतिशतले उकालो लाग्दा व्यापार समूह सबैभन्दा धेरै १.९६ प्रतिशतले घट्यो । बैंकिङ ०.१९ प्रतिशत, विकास बैंक ०.१५ प्रतिशत, फाइनान्स ०.३६ प्रतिशत, होटल तथा पर्यटन ०.५३ प्रतिशत, जलविद्युत् ०.४१ प्रतिशत, लगानी ०.१६ प्रतिशत, जीवन बीमा ०.२२ प्रतिशत, माइक्रोफाइनान्स ०.१५ प्रतिशत, निर्जीवन बीमा ०.४० प्रतिशत तथा अन्य समूह ०.४७ प्रतिशतले घटेका छन् ।

यद्यपि हालै सूचीकृत दुई कम्पनी टक्सार पिखुवाखोला हाइड्रोपावर र याम्बलिङ हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण उच्च देखिएको छ। दुवै कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेर ५२४ रुपैयाँ ६० पैसामा पुगेको छ ।

त्यस्तै कालिका लघुवित्तको सेयर मूल्य १२.८४ प्रतिशत, सप्तकोशी विकास बैंकको ८.२० प्रतिशत तथा रिलायन्स स्पिनिङ मिल्सको ३.२३ प्रतिशतले बढेको छ ।

विपरीत रूपमा भुजुङ हाइड्रोपावरको सेयर मूल्य ११.०३ प्रतिशतले घट्दा सीवाईसी लघुवित्त ८.९७ प्रतिशत, भगवती हाइड्रोपावर ५.८४ प्रतिशत तथा थ्रीस्टार हाइड्रोपावर ५.५७ प्रतिशतले ओरालो लागेका छन् ।

कारोबार रकमका आधारमा सोपान फर्मास्युटिकल्स, रिलायन्स स्पिनिङ मिल्स, सप्तकोशी विकास बैंक, आँखुखोला जलविद्युत् कम्पनी र नेपाल एसबीआई बैंक अग्रस्थानमा रहेका छन् ।

पछिल्लो समय बजारमा लगानीकर्ताको मनोबल कमजोर बन्दै जाँदा सूचकसँगै कारोबार रकममा समेत संकुचन देखिन थालेको छ । बजारले नयाँ दिशा लिन नीतिगत तथा मनोवैज्ञानिक दुवै पक्षबाट सकारात्मक संकेतको प्रतीक्षा गरिरहेको विश्लेषकहरू बताउँछन् ।